काठमाडौं। एमएडब्लू वृद्धिले फोटोन कमर्सियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्जी प्रोमोसन अवार्ड’ जितेको छ।
बेइजिङमा आयोजित फोटोन ग्लोबल कन्फ्रेन्स २०२६ मा यो अवार्ड प्रदान गरिएको हो। यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको कम्पनीले जनाएको छ।
‘फोटोनका लागि आजको दिनमा नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी बजारमध्ये एक हो, किनकि अहिले नेपालको कमर्सियल इभी क्षेत्रमा फोटोन दोस्रो स्थानमा पुगिसकेको छ। यो तथ्य नेपालको दिगो यातायाततर्फको प्रगतिको सूचक हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।
कार्यक्रममा फोटोन मोटरका उपाध्यक्ष किन झिडोङले यो अवार्ड एमएडब्लू वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियालाई हस्तान्तरण गरेका थिए।
यो उपलब्धि नेपालमा फोटोनको सफलतामा योगदान गर्ने सबै कर्मचारी, साझेदार र सहयोगीहरूको मेहनत, समर्पण र साझा लक्ष्यको परिणाम भएको कम्पनीले बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘एमएडब्लू वृद्धि आफ्नो सम्पूर्ण टिम र फोटोनलाई निरन्तरको विश्वास, सहयोग र साझेदारीका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछ। यी सबै साझा प्रयासमार्फत् नेपाललाई इलेक्ट्रिक मोबिलिटीतर्फ अघि बढाउँदै दक्षिण एसियाको इभी विस्तारमा महतत्त्वपूर्ण केन्द्रको रूपमा उभ्याइरहेका छन्।’
फोटोन ग्लोबल पार्टनर्स कन्फ्रेन्स २०२६ नोभेम्बर ६ देखि १० सम्म बेइजिङमा आयोजना गरिएको थियो। ‘अ सेयर्ड भिजन : टु बी अ वर्ल्ड-क्लास कमर्सियल भेहिकल इन्टरप्राइज’ भन्ने विषयवस्तुका साथ आयोजित यस कार्यक्रममा १४० भन्दा बढी देशका २ हजारभन्दा धेरै साझेदारहरूको सहभागिता थियो।
कार्यक्रममा ११० अत्याधुनिक कमर्सियल भेहिकल्स प्रदर्शन गरिएका थिए भने उद्योगको भविष्यलाई अघि बढाउने नवीनतम प्रविधि र अभिवृद्धि योजनाहरू पनि प्रस्तुत गरिएको थियो।










