विद्युतको तार भूमिगतको काम दुई क्षेत्रमा अन्तिम चरणमा, जमिनमुनिबाट कहाँ-कहाँ बिजुली?

जनक वली
२०८२ कात्तिक २९ गते २०:४७ | Nov 15, 2025
विद्युतको तार भूमिगतको काम दुई क्षेत्रमा अन्तिम चरणमा, जमिनमुनिबाट कहाँ-कहाँ बिजुली?


काठमाडौं। बिजुलीको तार भूमिगत गर्ने काम काठमाडौं उपत्यकाका थप दुई क्षेत्रमा अन्तिम चरणमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्ने काम तीन महिनाभित्र सकिने बताएको छ।

Vigo
GBIME
Tata

प्राधिकरणले २०७६ फागुन पहिलो साता तार भूमिगत गर्न सुरु गरेकामा यी दुई क्षेत्रमा अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ।

प्राधिकरणका आयोजना विकास निर्देशनालयका प्रमुख तारा प्रधानले काठमाडौं उपत्यकामा दुई क्षेत्रमा तीन महिनाभित्र तार भूमिगत गर्ने गरी काम भइरहेको बताए।

उपत्यकालाई तारमुक्त बनाउने उद्देश्यका साथ प्राधिकरणले पहिलो चरणमा विभिन्न चार क्षेत्रमा काम गरिरहेको छ। प्राधिकरणले टेन्डरमार्फत तीन वटा कम्पनी छानेर चार क्षेत्रमा तार भूमिगत गर्ने काम गरिरहेको छ।

लाजिम्पाटदेखि, महाराजगञ्ज हुँदै बुढानीलकण्ठ र रत्नपार्क, पुतलीसडक हुँदै एयरपोर्ट क्षेत्रमा तार भूमिगत गर्ने काम भारतको केइआइ कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ। यस्तै, कुलेश्वर, बल्खु हुँदै कीर्तिपुर र स्वयम्भू क्षेत्रमा एल एण्ड टी कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ।

रत्नपार्क वितरण केन्द्रअन्तर्गत हालसम्म हाइटेन्सन लाइनमा २८३ किलोमिटरमध्ये २८० किलोमिटर तार भूमिगत गरिसकिएको छ। यस्तै लोटेन्सन लाइनमा ३८२ किलोमिटरमध्ये ३६५ किलोमिटर तार भूमिगत गरिएको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए।

प्राधिकरणले काठमाडौं उपत्यका मध्ये र उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाको म्याद ३ महिना थप गर्न लागेको छ।

आयोजना प्रमुख श्रेष्ठले वर्षायाममा सडक खन्न नपाइने भएकाले काम समयमा नसकिएको बताए। ‘हामीले तार भूमिगत गर्ने काम ९० प्रतिशत सकिसकेका छौं। तर, वर्षायाममा सडक खन्न नपाएका कारण १० प्रतिशत काम बाँकी छ,’ श्रेष्ठले भने, ‘बाँकी काम तीन महिनामा सकिन्छ।’  

सडक विभागले वर्षाको ३ महिना (असार, साउन र भदौ) महिनामा सडक खन्न दिँदैन।

सहरको सुन्दरतालाई असर पारेको र सुरक्षामा जोखिम देखिएको भन्दै प्राधिकरणले एसियाली विकास बैंकको १०० मिलियन डलर सहुलियत ऋणमा तार भूमिगत गर्ने काम अगाडि बढाएको थियो। यो काम सुरुमा ३ वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो।

तर, करिब ३ वर्ष थप गरिंदा पनि आयोजना सम्पन्न हुन सकेको छैन। कोभिड, स्थानीय अवरोध, सरकारी निकायसँग समन्वयमा ढिलासुस्ती लगायत कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्चार्ज लिला चालिसेले बताए।

‘हामीले काम सुरु गरेलगतै कोभिड सुरु भयो। जसले गर्दा आयोजनाका लागि आवश्यक सामग्री ल्याउन नै समस्या भयो,’ उनले भने, ‘हामीलाई सुरुमा त सडक विभागबाट जमिन खन्नका लागि अनुमति लिन नै सकस पर्‍यो। यस्तै भूमिगत गर्ने ठाउँमा खानेपानी पाइपदेखि अन्य थुप्रै किसिममा समस्याले गर्दा आयोजना तोकिएको समयमा सम्पन्न गर्न सकिएन।’

प्राधिकरणले २०७७ मा काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण र पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना अगाडि बढाएको थियो।

पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत हाइटेन्सन लाइनमा २७५ किलोमिटरमध्ये १९५ किलोमिटर तार भूमिगत गरिएको छ। यसमध्ये ‍७२ किलोमिटर भूमिगत तारबाट बिजुली आपूर्ति गरिरहेको प्राधिकरणले जनाएको छ।

यो आयोजनाअन्तर्गत लोटेन्सन लाइनमा २२९ किलोमिटरमध्ये १९२ किलोमिटर तार भूमिगत गरिएको र ८५ किलोमिटर क्षेत्रमा भूमिगत तारबाट बिजुली आपूर्ति गरिरहेको आयोजना प्रमुख पियुष मालाकारले जानकारी दिए।

यस्तै महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत हाइटेन्सन लाइनमा २७८ किलोमिटरमध्ये २१४ किलोमिटर तार भूमिगत गरिएको छ। लोटेन्सन लाइनमा ३६७ किलोमिटरमध्ये ३५२ किलोमिटर तार भूमिगत भइसकेको आयोजना प्रमुख अभिषेक अधिकारीले बताए।

बिजुली जमिनमुनिबाट आपूर्ति कहाँ-कहाँ?

प्राधिकरणले अहिले उपत्यकाका विभिन्न ठाउँमा भूमिगत तारबाट बिजुली आपूर्ति गरिरहेको छ। न्युरोड जुद्ध सालिकदेखि इन्द्रचोक, चुच्चेपाटीदेखि महांकाल हुँदै रामहिटी, कोटेश्वर चोकदेखि जडिबुटी पेट्रोल पम्प, धोबीखोला कोरिडोरका केही भाग, लैनचौरदेखि पानीपोखरी र लैनचौरदेखि गैरीधारासम्म भूमिगत तारबाट बिजुली दिइरहेको हो।

यस्तै धाप ड्यामका लागि चिसापानीदेखि ड्यामसम्म पनि भूमिगत तारबाटै बिजुली आपूर्ति भइरहेको छ।

लैनचौरदेखि बालाजु, नयाँबजार खुसीबु क्षेत्र, चाबहिलदेखि चुच्चेपाटी, त्रिपुरेश्वरदेखि टेकु र विष्णुमति कोरिडोरमा पनि भूमिगत रुपमा बिजुली आपूर्ति गरिरहेको प्राधिकरणले जनाएको छ।

तर बसन्तपुरबाहेक अन्य क्षेत्रमा बिजुलीको पोल र यसअघिको तार प्राधिकरणले हटाउन सकेको छैन।

कालिमाटी चोकबाट बल्खु चोक हुँदै चोभार गेट, त्रिवि प्रवेशद्वारदेखि कीर्तिपुर प्रवेशद्वार, त्रिवि वरिपरिका क्षेत्र, कीर्तिपुर रिंगरोड, मैत्रीनगर, बल्खु कोरिडोर, भत्केपाटी, नगाऊँ र ढाल्पाचोक क्षेत्रमा पनि भूमिगत तारबाट विद्युत् उपलब्ध गराउन थालिएको छ।

यस्तै कलंकी मालपोत क्षेत्र, विष्णुमति पुलदेखि कलंकी, रातोपुलदेखि गौशाला चोक, गौशाला चोकदेखि पुरानो बानेश्वर, जडिबुटीदेखि सिनामंगल मन्दिर हुँदै खहरे चोक, स्वयम्भु परिक्रमा, भगवान पावदेखि बनस्थली, चाबहिल गणेशथान मन्दिरदेखि पहेंलो पुल, बौद्ध क्षेत्र र साँखु बजार क्षेत्रमा पनि जमिनमुनिबाट बिजुली सप्लाई भइरहेको छ । तर पोल र तार हटाउन बाँकी छ।

यसबाहेक प्राधिकरणले भरतपुर र पोखरामा पनि तार भूमिगत गर्ने काम गरिरहेको छ।