काठमाडौं। नेपाल विद्युत प्राधिकरणले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रक्रिया ‘फास्ट ट्रयाक’मा अगाडि बढाएको छ।
प्राधिकरणले विभिन्न चार वटा आयोजनामा लगानी जुटाउनका लागि ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले ऋणपत्र निष्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिने तयारी गरिरहेको बताए।
‘हामीले सरकारबाट स्वीकृति पाएलगत्तै ऋणपत्र निष्कासनका लागि तीव्र गतिका काम अगाडि बढाएका छौं। अहिले डकुमेन्टेसनको काम भइरहेको छ। १० दिनभित्र सेबोनमा आवेदन दिन्छौं,’ सिलवालले भने।
उनका अनुसार ऋणपत्र जारी गरेर उठाउने रकम ब्याजसहित भुक्तानी गर्ने आधार तयार पारिसकिएको छ। प्राधिकरणले आफूले गर्ने मुनाफा र सहायक कम्पनीबाट प्राप्त हुने मुनाफाको रकमबाट ब्याज भुक्तानी गर्नेछ।
गत आर्थिक वर्ष ९ अर्ब ६ करोड रुपैयाँ मुनाफा कमाएको प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड, २०७९/८० मा १२ अर्ब ८ करोड र २०७८/७९ मा १५ अर्ब ६ करोड रुपैयाँ फाइदा गरेको थियो।
प्राधिकरणले ऋणपत्र १० वर्षका लागि निष्कासन गर्नेछ।
असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको थियो।
वार्षिक सवा एक खर्ब रुपैयाँको विद्युत बेचेर १५ अर्ब रुपैयाँसम्म मुनाफा गर्दै आएको प्राधिकरणले चार वटा आयोजनामा लगानी जुटाउन २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो।
प्राधिकरणले १०६३ मेगावाटको अप्पर अरुण अर्धजलाशययुक्त आयोजना, २१० मेगावाटको चैनपुर सेती जलविद्युत आयोजना, तामाकोशी-५ र १८ मेगावाटको मोदी जलविद्युत आयोजनामा लगानी गर्नका लागि ऋणपत्र जारी गर्न लागेको जनाएको छ।
प्राधिकरणले यसअघि पनि आयोजना अगाडि बढाउन पैसा अभाव भएपछि २०६४ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो। त्यसबेला प्राधिकरणले ५ वर्षका लागि डेढ अर्बको ऋणपत्र निष्कासन गरेको थियो।











