काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ। श्चिमी वायुको सक्रिय प्रभाव तथा अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानैदेखि वर्षा हुँदा उपत्यकामा चिसो बढेको छ। यस्तै, निरन्तरको वर्षाले जनजीवन पनि प्रभावित बनेको छ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ र १४ गते कोशी, गण्डकी र बागमती प्रदेशका अधिकांश जिल्लामा हिमपात र भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ। प्राधिकरणले सूचना जारी गर्दै बिहीबार र शुक्रबार सतर्कता अपनाउन आग्रह गरेको हो।
यस्तै, प्राधिकरणले राज्य संयन्त्रहरुलाई पूर्वतयारीका लागि पनि आग्रह गरेको छ।

प्राधिकरणले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भारी हिमपात हुने जनाएको छ। साथै कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।
















