जेनजी विद्रोहको भावनालाई कुल्चिंदै कांग्रेस, निर्वाचनमा पुरानै अनुहार लिएर होमिने!



नेत्र तामाङ
२०८२ कात्तिक १३ गते १३:०५ | Oct 30, 2025
जेनजी विद्रोहको भावनालाई कुल्चिंदै कांग्रेस, निर्वाचनमा पुरानै अनुहार लिएर होमिने!

काठमाडौं। नेपाली कांग्रेस यतिबेला १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयको गाँठोमा अल्झिएको छ। जेनजी विद्रोहपछि नेतृत्व परिवर्तनको माग तीव्र रुपमा उठिरहेको बेला सहयात्री दलहरुले धमाधम महाधिवेशनको मिति तोकिसक्दा कांग्रेसले यो गाँठो फुकाउन सकेको छैन।

Tata
GBIME
Nepal Life

यसै विषयमा निर्णय लिने भन्दै असोज २८ मा सुरु भएर कात्तिक १ गते स्थगित कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचनमा होमिनु पर्ने भन्दै कांग्रेसले महाधिवेशनको मिति तोक्न अलमल गरिररहेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व फेरेर मात्र निर्वाचनमा जानुपर्ने बताउँदै आएका छन्।

गगन थापा र विश्वप्रकाश शर्मा

गगनले नियमित महाधिवेशन आउँदो मंसिर २७ देखि २९ गतेसम्म गर्ने गरी कार्यतालिका पेस गर्ने तयारी गरेकामा कार्यसम्पादन समितिले पारित नगरेका कारण यो विषय केन्द्रीय समितिको एजेण्डा बनेको छैन।

नेकपा एमालेले यही मितिमा पोखरामा आफ्नो ११औं महाधिवेशन गर्ने निर्णय असोज मसान्तमै गरिसकेको छ। माओवादीले यसअघि नै केन्द्रीय समिति भंग गरेर मंसिरमा महाधिवेशन गर्न आयोजक समिति गठन गरिसकेको छ।

महाधिवेशन चाँडो गर्न दबाब

केन्द्रीय समिति बैठकमा एजेण्डाको रुपमा पेस नभए पनि कांग्रेसलाई महाधिवेशनको मिति तोक्न दबाब भने बढेको छ। अझ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर नै बुझाइसकेका छन्।

विधानत: कांग्रेसको १५औं महाधिवेशन आउँदो मंसिर मसान्तसम्म गरिसक्नुपर्छ। तर, संस्थापन पक्षले निर्वाचनअघि महाधिवेशन गर्न नसकिने भन्दै धकेल्न खोजिरहेको छ। यसका लागि संस्थापन पक्षका नेताहरुले अलग्गै बैठक समेत गरिसकेका छन्।

संस्थापन पक्षले धकेल्न खोजेको बुझेरै थापा र विश्वप्रकाशले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गराएर नियमित महाधिवेनको कार्यतालिका ल्याउन दबाब बढाएका हुन्।

विश्वप्रकाश शर्मा

विश्वप्रकाशले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनका लागि चार वटा विकल्प अगाडि सारेका छन्। उनले गगनको प्रस्ताव अनुसार मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्न, नभए मंसिर मसान्तमै केन्द्रीय समितिले चाहेमा भन्ने विधानको व्यवस्था बमोजिम वा ४०% भन्दा बढी महाधिवेशन प्रतिनिधिको लिखित माग सम्बोधन गर्दै विशेष महाधिवेशन गर्न र त्यो पनि नभए पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।

संस्थापनइतरका नेता डा. शेखर कोइराला नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने पक्षमा छन्।

हस्ताक्षर अभियानमा सक्रिय भएका कांग्रेस नेता देवराज चालिसे महाधिवेशन मंसिरमै हुनुपर्ने बताउँछन्। ‘नियमित होस् वा विशेष, केन्द्र आफैंले आह्वान गरोस् वा हस्ताक्षरबाट बोलाइएको होस्—अधिवेशन अपरिहार्य छ र यो मंसिरभित्रै हुनुपर्दछ,’ चालिसेले भने।

संस्थापन पक्ष देउवाकै नेतृत्वमा चुनावमा जाने दाउमा

यसै विषयमा शनिबार ललितपुरको सानेपास्थित सिद्धार्थ होटलमा संस्थापन पक्षका शीर्ष नेताहरुले छलफल गरे। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा भएको छलफलमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शशांक कोइरालालगायत नेता सहभागी थिए। त्यो छलफलमा महाधिवेशन गर्नुको साटो केन्द्रीय समितिको म्याद थप्ने विषयमा कुरा भएको थियो।

‘महामन्त्रीहरुलाई पनि थाहै भएको विषय हो अहिले नै महाधिवेशन गर्न सक्ने अवस्था छैन। त्यसैले अहिले असाधारण स्थितिमा वर्ष दिन थपेर जाँदा हुन्छ भन्ने विषयमा पनि छलफल भयो,’ छलफलमा सहभागी एक नेताले भने।

कांग्रेसको विधानको धारा ४३ मा एक वर्ष म्याद थप्न सक्ने व्यवस्था छ। ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ,’ धारा ४३ मा भनिएको छ।

छलफलमा सहभागी प्रवक्ता डा प्रकाशशरण महत भने विधानलाई देखाएर वर्ष दिन थप्नतिर लाग्न नहुने बताउँछन्। ‘एक वर्ष सर्ने भन्ने कुरा छैन। विधानले सुविधा दिएको छ भनेर तन्काउने कुरा छैन। महाधिवेशन गर्न यथार्थ समय कति लाग्छ? त्यो हेरेर मिति तोक्नुपर्छ,’ महतले भने।

डा. प्रकाशशरण महत

महत वैशाखदेखि जेठसम्ममा १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन्। क्रियाशील सदस्य व्यवस्थापनको समस्या र सरकारले तोकेको निर्वाचनलाई मध्यनजर गर्दा तत्काल महाधिवेशन गर्न नसकिने उनको भनाइ छ।

‘हामी चुनावमै जाने भनिरहेका छौं। संवैधानिक ट्र्याकमा जान निर्वाचनमा होमिनुपर्‍यो। यहीबेला अधिवेशन भनेर माथापच्ची गर्न पनि भएन। क्रियाशील पनि बनाउँदै गर्ने र वैशाख जेठसम्म गर्ने गरी कार्यतालिका बनाउन सकिन्छ,’ महतले भने।

क्रियशील सदस्यताका कारणले रोकिंदैन महाधिवेशन

क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगन छन्। समितिमा योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही र सीता गुरुङ सदस्य छन्। चौधरीले क्रियाशील सदस्यताले मंसिरमा नियमित महाधिवेशन गर्न कुनै समस्या नहुने बताए।

‘हप्ता दिनभित्र ९० प्रतिशत जिल्लाको क्रियाशील नवीकरण आइसक्ने कुरा छ। त्यसपछि नयाँ वितरण खुलिहाल्छ,’ चौधरीले भने, ‘यस्तो बेला फास्ट ट्र्याकमा लान सकिन्छ। केन्द्रीय सदस्यहरु र जिल्ला सभापतिहरु लागेमा मंसिरमा नियमित महाधिवेशन गर्न कुनै समस्या देखिंदैन।’

पुरानै सोचले कांग्रेसलाई पुग्दैन फाइदा

सभापति शेरबहादुर देउवाले सिंगापुरमा उपचारका लागि उड्नुपूर्व दुई साताअघि नै उपसभापति खड्कालाई कार्यवाहक दिइसकेका छन्। कार्यवाहक सभापति खड्का कार्यकर्ताको मनोभावना समेटेर महाधिवेशनको मिति तोक्ने बताउँछन्।

पूर्णबहादुर खड्का

‘पार्टीमा फरक फरक धारणा आएका छन्। विशेष महाधिवेशनको प्रस्तावलाई पनि नियमित महाधिवेशनको सीमाभित्र जोडेर अघि बढ्छौं,’ खड्काले भने।

कांग्रेसको जारी केन्द्रीय समितिमा ३२ सदस्यले धारणा राखिसकेका छन्। धारणा राख्ने क्रममा अधिकांश नेताहरुले नियमित महाधिवेशन सकेसम्म चाँडो तोक्न आग्रह गरेका छन्।

विश्लेषक जुगल भुर्तेल संस्थापन पक्षमा पुरातन सोच र ‘दाइ कांग्रेस’ प्रवृत्ति नहट्दा जेनजीको वेगमा अघि बढ्न नसकेको बताउँछन्। ‘अहिलेको मुल मुद्दा कांग्रेसको रिफर्म हो। त्यसले अरु पार्टीलाई पनि बाटो देखाउँछ,’ भुर्तेल भन्छन्, ‘नेतृत्व परिवर्तनपछि चुनावमा जाँदामात्र कांग्रेसलाई फाइदा पुग्छ।’