काठमाडौं। सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक बुधबार ५.१७ अंक ओरालो लागेर २५६६.१६ विन्दु कायम भएको छ।
कारोबार सुरु भएको ४५ मिनेटमा नेप्से उकालो लागेर २६०६ विन्दुमा पुगेकामा त्यसपछि ओरालो लागेको हो।
होटल तथा पर्यटन, हाइड्रोपावर, माइक्रो फाइनान्स र ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै १.२० प्रतिशतले घटेको छ।
बजारमा होटल तथा पर्यटनको सूचक सबैभन्दा धेरै २.१५ प्रतिशत बढेको छ। १५९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ज्योति विकास बैंकको ऋणपत्र सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ। बजारमा ८५ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
खानीखोला हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। नेप्से सूचक घटे पनि बजारमा कारोबार रकम बढेको छ।
बजारमा बुधबार ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। युनियन हाइड्रोपावरको सबैभन्दा धेरै २३ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको २३ करोड १९ लाख र बुटवल पावर कम्पनीको २२ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।










