सुनचाँदीको भाउ घट्दै, सुन प्रति तोला २ हजार घट्दा चाँदी ३५ रुपैयाँ सस्तियो



बिजमाण्डू
२०८२ कात्तिक १० गते १०:४५ | Oct 27, 2025
सुनचाँदीको भाउ घट्दै, सुन प्रति तोला २ हजार घट्दा चाँदी ३५ रुपैयाँ सस्तियो

काठमाडौं। लगातार उच्च भएको सुनचाँदीको मूल्य यो साता घट्न सुरु भएको छ। अन्तर्राष्ट्रिय बजारमूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि भाउ घट्न थालेको हो। अघिल्लो दिनका तुलनामा सोमबार सुन तोलामा २ हजार रुपैयाँ घटेको छ भने चाँदी ३५ रुपैयाँ सस्तिएको छ।

Tata
GBIME
Nepal Life

सोमबारका लागि सुनको कारोबार मूल्य तोलाको २ लाख ३९ हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलाको २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो। तिहारपछि खुलेको बजारमा सुन तोलाको ११ हजार ६ सय रुपैयाँ घटेको थियो।

सोमबार चाँदी प्रति तोला २ हजार ९ सय ८० रुपैयाँ भएको छ। अघिल्लो पटकका तुलनामा २ सय ६५ रुपैयाँ घटेर आइतबार चाँदीको कारोबार मूल्य तोलाको ३ हजार १५  रुपैयाँ भएको थियो।

कात्तिक ३ गते सुन प्रति तोला २ लाख ५३ हजार ५०० र चाँदी ३ हजार २ सय ८० रुपैयाँका दरले कारोबार भएको थियो। त्यसको भोलिपल्ट अन्तर्राष्ट्रिय बजारमा भाउ करिब ७ प्रतिशतले घटेकामा महासंघले तिहार बिदा देखाएर नयाँ भाउ तोकेको थिएन।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रति औंस ४०६९.९९ डलरले कारोबार भइरहेको छ। आइतबार प्रति औँस सुन ४११३ डलर थियो। चाँदी प्रति औंस ४८.०३ डलर छ।