काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले ३४ जना सहसचिवको सरुवा गरेका छन्। उनले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिवहरुको सरुवा गरेका हुन्।
अर्यालको निर्णयमा दुई विभागका महानिर्देशकसहित ललितपुर, भक्तपुर, झापा, मोरङ, रुपन्देही, कपिलवस्तु, बारा, पर्सा, रौतहट लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन्। यस्तै दुई सहसचिवको पदस्थापना गरिएको छ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ।
यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रुपमा सरुवा गरिएको छ।
राष्ट्रिय परिचयपत्र विभागका महानिर्देशक युवराज कट्टेललाई मोरङ र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई ललितपुरको सीडीओ बनाइएको छ।
रुपन्देहीका सीडीओ टोकराज पाण्डेलाई लमजुङ पुर्याइएको छ। दोलखाका सीडीओ भोला दाहाललाई पर्सा सरुवा गरेर त्यहाँका तोयनारायण सुवेदीलाई अर्घाखाँची पुर्याइएको छ।














