ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र र पूर्वाधारमा लगानी बढाउन बहुपक्षीय सहकार्य आवश्यक : चन्द्र ढकाल



बिजमाण्डू
२०८२ कात्तिक २ गते १३:४५ | Oct 19, 2025
ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र र पूर्वाधारमा लगानी बढाउन बहुपक्षीय सहकार्य आवश्यक : चन्द्र ढकाल
फाइल तस्बिर।

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको विकास, ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र र पूर्वाधारजस्ता क्षेत्रहरूमा लगानीका लागि बहुपक्षीय सहकार्य आवश्यक रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

अमेरिकाको वाशिङ्टन डीसीमा आयोजित विश्व बैंक वार्षिक बैठक २०२५ मा सहभागी भएका अध्यक्ष ढकालले विश्वका वित्तीय तथा विकास संस्थाका वरिष्ठ अधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ताका क्रममा यस्तो बताएका हुन्।

अर्थमन्त्री रामेश्वर खनाल, राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा अन्य उच्चपदस्थ अधिकारीहरूसहितको नेपाली प्रतिनिधिमण्डलसँगै अध्यक्ष ढकालले उक्त बैठकमा सहभागिता जनाएका थिए।

बैठकमा अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक समूह र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का वरिष्ठ प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका थिए। उनले आर्थिक प्राथमिकताहरू, वैश्विक साझेदारी, विश्व आर्थिक परिदृश्य, विकासका लागि वित्तीय स्रोत परिचालन तथा दिगो आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकाबारे विस्तृत छलफल भएको जानकारी दिए।

अध्यक्ष ढकालले ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) का प्रबन्ध निर्देशक नादाबा म्पोफु र आईएफएफका पूर्व प्रबन्ध निर्देशक तथा हाल युरोपियन सेन्ट्रल बैंक (ईसीबी) की अध्यक्ष क्रिस्टिन लगार्डसँग समेत भेट गरेका थिए। ती भेटवार्तामा आर्थिक सम्भावना, वित्तीय क्षेत्रको सुदृढता तथा दिगो लगानीका अवसरहरूबारे छलफल भएको थियो।

२५औं वार्षिक बैठकमा नेपालको सहभागिताले दिगो आर्थिक वृद्धि र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँग सम्बन्ध गहिरो बनाउने प्रतिबद्धतालाई पुष्टि गरेको अध्यक्ष ढकालले बताए। यस्ता छलफलहरूले सहकार्य र लगानीलाई वृद्धि गर्ने बाटो खोल्ने अपेक्षा गरिएको उनको भनाइ छ।

अध्यक्ष ढकालका अनुसार यस्ता अन्तर्राष्ट्रिय बैठकहरूमा महासंघको सहभागिताले नेपालको आर्थिक कूटनीति सुदृढ गर्न, वैदेशिक लगानी आकर्षित गर्न र निजी क्षेत्र तथा बहुपक्षीय संस्थाबीचको सहकार्य बलियो बनाउन सहयोग गर्छ। यसले नेपाललाई आर्थिक अवसरहरूको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने उनको विश्वास छ।

महासंघले यस्तो सहभागिताले नेपालका आर्थिक प्राथमिकता प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय साझेदारी सुदृढ गर्ने दिशामा एक महत्त्वपूर्ण कदम स्थापित गरेको जनाएको छ।