काठमाडौं। नागरिक उड्डयन प्राधिकरणको एयर ट्राफिक सर्भिसेसका उपनिर्देशक संजयकुमार साहको भारतीय आधार कार्ड रहेको खुलेको छ।
साहको आधार कार्ड रहेको सार्वजनिक भएपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले १५ दिने स्पष्टीकरण सोधेका छन्। ‘सामाजिक सञ्जालमा आधारकार्ड र साहको तस्विर सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको छ,’ प्राधिकरणका एक कर्मचारीले बिजमाण्डूसँग भने। तर, साहले भने आफ्नो भाईले सम्पत्ति हत्याउन भ्रामक सूचना सामाजिक सञ्जालमा हालेको दाबी गर्छन्।
‘मेरो आफ्नै भाइ(मनोज कुमार शाह )ले फसाउन यो हर्कत गरेको हो। सम्पत्तिको लागि मलाई बदनाम गर्न यो सबै गरेको हो,’ उनले भने, ‘भाइले आमा र मेरो नाममा भएको जग्गा नपाएपछि यसरी खेदो खनिरहेको छ। आमालाई समेत कुटपिट गरेर भाइ अहिले भारत गएको पनि पाँच वर्ष भइसक्यो।’

उनले भाइ विरुद्ध लाहान र सिराहामा विभिन्न अपराधिक मुद्धाहरु रहेको समेत जिकिर गरे।
प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले सामाजिक सञ्जालमा आएको विषयमा छानविन भइरहेको जानकारी दिए।
‘अब सामाजिक सञ्जालमा आएको सबै कुरा सत्य हुन्छ भन्न सकिन्न। सार्वजनिक भारतीय आधारकार्डमा नाम मिल्छ तर प्रमाणित गर्न तस्विर पनि छैन्,’ उनले भने, ‘सम्बन्धित निकायले यसमा अनुसन्धान गर्ला। हाम्रो तर्फबाट पनि अनुसन्धान हुन्छ।’










