तिहारका लागि उपभोक्ताले किन्न थाले भाइमसला, ‘पेस्ता र नरिवलबाहेकको भाउ बढेको छैन’



बिजमाण्डू
२०८२ असोज ३१ गते १८:२२ | Oct 17, 2025
तिहारका लागि उपभोक्ताले किन्न थाले भाइमसला, ‘पेस्ता र नरिवलबाहेकको भाउ बढेको छैन’

काठमाडौं। तिहारका लागि बजारमा भाइ मसलाको किनमेल सुरु हुन थालेको छ। टीकाको दिन दाजुभाइलाई भाइमसला अनिवार्य जस्तै भएकोले किनमेल सुरु भएको हो। किनमेल बढेकाले बजारमा घुइँचो हुन थालेको छ।

Tata
GBIME
Nepal Life

तिहारमा काजु, नरिवल, छोकडा, बदाम, किसमिस, ओखर, मखना, मिश्री, ल्वाङ, दालचिनी, सुकुमेल र अजिंरको खपत धेरै हुने गर्छ। ग्राहकले प्याकिङ गरेको र खुल्ला भाइमसला खरिद गर्छन्।

व्यापारीहरूले समग्रमा भाइमसलाको भाउ महँगो नभएको बताएका छन्। खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भाइमसलाको भाउ यसपालि नबढेको बताए।

‘यसपालि काजु, बदाम, किसमिस, ओखर, छोकडा, मखना लगायतको भाउ बढेको छैन,’ उनले भने।

व्यवसायीका अनुसार पेस्ता र नरिवलको भाउ भने बढेको छ। पेस्ता थोक बजारमै प्रति किलो कम्तीमा ३०० रुपैयाँ महँगो भएको छ। थोक बजारमा यसअघि प्रति किलो १५ सय रुपैयाँ रहेको पेस्ताको भाउ अहिले १८०० रुपैयाँभन्दा माथि पुगेको छ।

गत वर्षको तिहारमा काजु महँगो भएको थियो।

कात्यानी सप्लायर्सका संचालक इसव पराजुलीले यसपालि पेस्ताका अलावा नरिवलको मूल्य बढेको बताए। उनका अनुसार पोहोर तिहारमा खुद्रा बजारमा नरिवलको भाउ प्रति किलो ६०० रुपैयाँ रहेकामा यसपालि ९०० रुपैयाँसम्म पुगेको छ।

‘पेस्ता र नरिवलको भाउ बढेको छ। अरुको मूल्य बढेको छैन,’ उनले भने।

व्यवसायीका अनुसार पेस्ता र नरिवलको भाउ भारतमै बढेका कारण नेपालमा महँगो भएको हो। उनीहरूले भारतीय बजारमा पेस्ता र नरिवलको आपूर्ति कम भएका कारण भाउ बढेको जानकारी आएको बताए।

‘भारतमा तेल फ्याक्ट्रीले राम्रो मूल्य दिएर नरिवल खरिद गरेकाले आपूर्तिमा समस्या देखिएको जानकारी आएको छ,’ पराजुलीले भने, ‘त्यही कारण नेपालमा मूल्य बढेको हो।’

बजारमा हाल व्यापारीले प्रति किलो काजु १६५० देखि १७००, बदाम १५५० देखि १६००, किसमिस ५५० देखि ६००, छोकडा ५००, सुकुमेल जम्बो ६०० र नर्मल ४५०, दालचिनी नर्मल ५५० र रोल ११००, ओखर ५००, अंजिर २०००, मिश्री १८०, ल्वाङ १८०० देखि २०००, मखना १४०० देखि १५०० रुपैयाँमा बेचिरहेका छन्।