
पोखरा। स्थानीयस्तरमा उत्पादन बढाउँदै आयात निरुत्साहित गर्ने योजनासहित पोखराको बेगनासमा कागती जोन छुट्याएर बिरुवा रोप्न सुरू गरिएको छ।
उक्त जोनमा रोपिने बिरुवा संख्या १७ हजार पुर्याइने भएको छ। बर्सेनि मुलुकबाट ठूलो रकम कागतीको आयातमा बाहिरिन्छ।
स्थानीयस्तरमै उत्पादनको पर्याप्त सम्भावना रहेकाले अध्ययनसँगै सरकारले कागती खेती प्रवर्द्धनको योजना कास्कीमा कार्यान्वयनमा ल्याएको हो।
कागती जोन अभियान आत्मनिर्भरताका लागि रहेकाले अनुदानसहित अघि बढाइएको गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले बताए।
'स्वदेशकै माटोमा उत्पादन गर्न सकिने कागती पनि भारतबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको आयात हुनु दुःखद हो,' उनले भने। सरकारले गरेको लगानीलाई परिणाममुखी बनाउन उनले किसानहरुलाई आग्रह गरे।
बेगनासमा सुरु गरिएको कागती खेतीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको ५० प्रतिशत अनुदान रहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख शालिकराम अधिकारीले बताए। लागतमा ५० कृषकको सहभागिता रहनेगरि सहकारीले अगुवाइ गरेको छ। उक्त खेतीमा ३२ लाखको लगानी रहेको जानकारी उनले दिए।
'परीक्षणका रूपमा हेरिएको कागती खेती कृषकहरुले राम्रो गरे पकेट क्षेत्रबाट ब्लकमा जान सकिन्छ, तर सम्झौता अनुसार काम नगरे सरकारले अनुदानको भुक्तानी गर्दैन,' उनले भने।
खेतीका लागि कोट देउराली बहुउद्देश्यीय सहकारी संस्थामार्फत कागती पकेट सञ्चालक समिति गठन गरिएको छ। समितिका अध्यक्ष विष्णुप्रसाद लामिछाने छन्।
जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले बेगनासबाट सुरुभएको कागती खेती अभियान देशकै नमुना बनाउनुपर्ने बताइन।











