बजारमा छैनन् थरीथरीका तरकारी : एकैखाले हरिया सागसब्जीको माग धेरै, भाउ पनि महंगो



सरला सुवेदी
२०८२ कात्तिक ४ गते ०६:२० | Oct 21, 2025
बजारमा छैनन् थरीथरीका तरकारी : एकैखाले हरिया सागसब्जीको माग धेरै, भाउ पनि महंगो

काठमाडौं। केही समयदेखि तपाईं तरकारी पसल वा थोक तरकारी बजार गइरहनु भएको छ भने याद गर्नु भएकै होला – तरकारी प्राय एकै खाले छन्। उपभोक्ताले हरेक दिन तरकारी किन्न जाँदा एउटै तरकारी खरिद गर्नुपर्ने अवस्था छ। बजारमा नयाँ स्वादका तरकारी किन्न खोज्नु भयो भने पाइँदैन।

Tata
GBIME
Nepal Life

थोक देखि खुद्रा बजारसमम्म हेर्ने हो भने पनि सिजनल तरकारीमात्र बेच्न राखिएका छन्। करेला, लौका, स्कुस, घिरौला, काउली, बन्दा, घिउ सिमि, भिण्डी, भेन्टा र सागपातहरुमात्र पाइन्छ पसल, बजारमा।

अहिले ती तरकारीको भाउ पनि महंगिदै गएको छ। कालीमाटी थोक बजारमै हरिया तरकारीको भाउ प्रतिकेजी १०० रुपैयाँ भन्दा बढी रहेको छ। नयाँ आलु आएपछि भाउ थोरै बढ्न थालेको छ । प्याजको भाउ भने घट्दो छ।

वर्षाको सिजन सकिएपछि हरिया तरकारीको उत्पादन कम हुँदै गएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए। बर्खे सिजनका तरकारीको उत्पादन कम हुँदै गएको हुनाले मूल्य बढ्दै गएको उनी बताउँछन्। हाल बजारमा भएका सबै हरिया तरकारी स्वदेशी उत्पादन रहेका छन्। भारतबाट हरिया तरकारीको आयात छैन।

हिउँदे सिजनका तरकारी बजारमा आइसकेको छैन। ती तरकारीहरु नआएसम्म बजारमा सीमित तरकारीमात्र पाइने उनले जानकारी दिए।

‘सबैतिर सिजनल तरकारी मात्र भएकोले त्यही पाइन्छ। दसैंपछिको आकासे पानीले केहि ठाउँमा लगाएको हिँउदे तरकारीलाई असर गरेको छ। यसले गर्दा पनि बजारमा हरिया तरकारीको धेरै भेराइटी छैन,’ प्रवक्ता श्रेष्ठले भने।

पछि धेरै आउन थालेपछि भाउ पनि सस्तो हुन्छ’उनले भने।
वर्खे सिजनका तरकारीको आगमन घट्दै गएपछि हरिया फ्रेस तरकारी भाउ उकालो लागेको छ। मध्य बर्खाको समयमा पनि तरकारीको भाउ यति धेरै महङगो भएको नभएको उनले दाबी गरे।

हरेक वर्ष दसैंपछि तरकारीको भाउ बढ्ने गर्छ। यो समयमा उत्पादन कम र माग बढ्ने गर्छ। भारतबाट आलु, प्याज, गोलभेडा र कागती बाहेक हरिया तरकारी आयात भएको छैन।

‘अहिले भारतमा पनि नयाँ तरकारी आएको छैन। त्यहाँ उत्पादन भएको हरिया तरकारीले त्यहीको माग पुर्‍याउन सकिँदैन। उक्त तरकारी आयात गर्दा लागत महंगो पर्छ,’ उनले भने।

श्रेष्ठका अनुसार हाल बजारमा हरिया तरकारीको माग बढ्दो क्रममा रहेको छ। तिहारका कारण उपत्यकामा चलपहल बढेपछि तरकारीको माग वृद्धि भएको हो। दैनिक ४ लाख केजी भन्दा बढी हरिया तरकारी भित्रिरहेको छ। माग अनुसारको आपूर्ति कम रहेको पाइएको छ।

अफसिजन भएकोले तरकारी महंगो र सीमित पाइने भएको तरकारी फलफूल महासंघका पूर्व अध्यक्ष खेम प्रसाद घिमिरेले बताए।

‘नयाँ तरकारी स्कुस र बरेला आउन सुरु भएको छ। कार्तिक सुरु भएपछि नयाँ तरकारीहरु आउन थाल्छन्। त्यतिबेला हाम्रो उत्पादनले नपुग्ने भयो भने मात्र भारतबाट आउँछ। अहिले भारतमा पनि तरकारी उत्पादन कम छ। कार्तिकको मध्यबाट बजारमा नयाँ भेराइटीका तरकारीहरु पाइनेछ,’ घिमिरेले जानकारी दिए।

गाजरको थोक मूल्य प्रति केजी १२० रुपैयाँ, काउली १३० रुपैयाँ, तने बोडी १८० रुपैयाँ, घिउ सिमी १५० रुपैयाँ, घिउसिमी राजमा २४० रुपैयाँ, भटमासकोशा १०० रुपैयाँमा बिक्री भइरहेको छ। करेलाको थोक मूल्य प्रतिकिलो ९५ रुपैयाँ, लौका ९० रुपैयाँ, परवरको ११० रुपैयाँ, चिचिण्डो ८० रुपैयाँ छ।

यस्तै, घिरौला ११० रुपैयाँ, भिण्डी ११५ रुपैयाँ, बरेला १०५ रुपैयाँ, रायो साग १७० रुपैयाँ,पालुंगो साग २०० रुपैयाँ, ब्रोकाउली २६० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, हरियो धनिया २०० रुपैयाँ र सिताके च्याउको थोक मूल्य प्रतिकिलोएक हजार रुपैयाँ रहेको छ।