कतारसामू नेपालको ब्याटिङ संघर्ष, कप्तान पौडेलको अर्धशतकको सहायतामा १ सय ४८ रनको लक्ष्य



बिजमाण्डू
२०८२ असोज २७ गते २२:२१ | Oct 13, 2025
कतारसामू नेपालको ब्याटिङ संघर्ष, कप्तान पौडेलको अर्धशतकको सहायतामा १ सय ४८ रनको लक्ष्य
क्रिजमा रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी। तस्बिर: क्यान

काठमाडौं। नेपाली क्रिकेट टोलीले कतारसामू १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी टी-२० विश्वकप एसिया/इएपी छनोट अन्तर्गतको सुपर सिक्सको खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २.४ ओभरमै पहिलो विकेट गुमाएको थियो। ओपनर कुशल भुर्तेल मिर्जा मोहम्मद बाइगको बलमा ६ रन बनाएर आउट भए। दोस्रो विकेट आशिफ शेखको गुम्यो। उनी ४.१ ओभरमा ११ रन बनाएर बाइगकै बलमा आउट भए।

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान रोहितकुमार पौडेलले नेपालको इनिङ्स अघि बढाउन सबैभन्दा महत्वपूर्ण भूमिका खेले। यद्यपि अर्को एण्डमा विकेट गुम्न भने रोकिएन।

७.४ ओभरमा कुशल मल्ल ८ रन बनाएर खेलिरहँदा ओवइस अहमदले बल एण्ड क्याच गर्दा उपकप्तान दीपेन्द्रसिंह ऐरीले रोहितलाई सबैभन्दा लामो साझेदारी सघाए। ऐरीले २२ बलमा २६ रन बनाउँदै ड्यानियल आर्चरको बलमा आउट भए। आजको खेलमा प्लेइङ ११ मा स्थान बनाएका आदिल अन्सारीले प्रभाव छाड्न सकेनन्। उनी पनि आर्चरकै बलमा २ रन बनाएर आउट भए।

नेपालका लागि सर्वाधिक रन बनाएका कप्तान पौडेलको विकेट छैटौं नम्बरमा गुम्यो। ४१ बलमा ७ चौका र १ छक्काको सहायतामा ५८ रन बनाएका उनी पनि आर्चरकै बलमा १६.३ ओभरमा बोल्डआउट हुन पुगे।

जारी विश्वकप छनोटमा सन्दीप जोराको खराब लयले आज पनि निरन्तरता पायो। उनी १ रन बनाएर मोहम्मद असिमको बलमा बोल्ड आउट भए।

प्रभावशाली अलराउण्डर गुल्सन झाले ८ बलमा १६ रन बनाउँदै पभेलियन फर्किँदा सोमपाल कामीले १४ रनको योगदान दिए।

बलिङतर्फ कतारका ड्यानिय आर्चर र मिर्जा मोहम्मदले समान ३ विकेट लिँदा मोहम्मद असीम र ओवइस अहमदले समान १ विकेट लिए।

कतार केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।