काठमाडौं। यस वर्षको तिहारमा पनि भारतबाट सयपत्री फूल आयात नहुने भएको छ। आन्तरिक उत्पादनले नै लगभग बजारको माग पुग्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।
यो वर्ष बजारमा सयपत्री फूलको मालाको खपत करिब ४० लाख हुने अनुमान रहेको एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए।
‘आन्तरिक उत्पादन करिब ३५ लाख हुने अनुमान छ। ५ लाख माला मात्रै अपुग हुने देखिन्छ,’ उनले भने, ‘यो व्यावसायिक रुपमा प्रयोग हुने माला हो। यसबाहेक गाउँघरबाट थप मालाहरू आउँछन्।’
तिहारमा भाइटीकाका लागि पनि सयपत्रीको मात्रा प्रयोग हुन्छ। यसका लागि विभिन्न ठाउँबाट आउने हुनाले मालाको खासै समस्या नहुने उनी बताउछन्।
गत वर्षको भन्दा फूलको उत्पादन राम्रो रहे पनि तिहार अलि अगाडी भएकोले तयार नहुने होकी भन्ने चिन्ता रहेको श्रेष्ठले बताए। गत वर्ष प्रति गोटा ८० रुपैयाँमा बिक्री भएको सयपत्री माला ५ रुपैयाँ बढाएर बिक्री गर्न लागिएको उनले बताए।
गत वर्ष ३३ लाख माला आन्तरिक रुपमा उत्पादन भएको थियो। गत वर्ष ३२ करोड रुपैयाँको सयपत्री फूलको कारोबार भएको थियो। यो वर्ष ३४ करोड रुपैयाँको कारोबार हुने लक्ष्य रहेको उनले जानकारी दिए। यद्यपि, जेनजी आन्दोलनका कारण फूलको बजार पनि प्रभावित हुन सक्ने अध्यक्ष श्रेष्ठले बताए।
त्यस्तै, मखमली फूलको मालाको आन्तरिक र वाह्य माग बढेको छ।
‘आन्तरिक माग साढे ३ लाख छ। २ लाख माला निर्यात हुनेछ। विदेशमा भएका नेपालीहरूले तिहारमा मलखली माला प्रयोग गर्ने भएकोले निर्यात बढ्दै गएको छ,’ उनले भने।

गत वर्ष मखमली मालाको आन्तरिक माग ३ लाख २५ हजार थियो भने १ लाख ५० हजार माला निर्यात भएको थियो। यो मालाको मूल्य प्रति गोटा ४५ रुपैयाँ छ। जुन गत वर्षकै मूल्य हो।
एसोसिएसनका अनुसार मखमली मालाको कारोबार २ करोड ४७ लाख रुपैयाँको हुने अनुमान छ। गत वर्ष २ करोड १३ लाख रुपैयाँको मखमलीको माला बिक्री भएको थियो।
तिहारमा २० हजार गोदाबरी फूलको माला खपत हुने अनुमान गरिएको छ। यसको मूल्य गत वर्षको भन्दा २० रुपैयाँले बढेको छ।
गत वर्ष गोदावरी फूलको मालाको मूल्य प्रति गोटा १ हजार थियो। अहिले १ हजार २०० रुपैयाँ पुगेको छ। तिहारको अवधिमा २ करोड ४० लाख रुपैयाँको गोदावरी फूलको माला बिक्री हुने अनुमान छ।

यो वर्ष मिक्स माला ५० हजार गोटा खपत हुने अनुमान छ। गत वर्ष ३० हजार गोटा खपत भएको थियो। यसको मूल्य प्रति गोटा ३५० रुपैयाँ तोकिएको छ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सरकारले सयपत्री र अन्य कृत्रिम फूलको आयातमा रोक लगाएको छ।
गत वर्ष यस्ता फूल तथा मालाहरू अवैधानिक रुपमा आयात भएका थिए। यसरी अवैध रुपमा आयात हुँदा स्वदेशी किसानले बजार नपाउने गरेका छन्।
सयपत्री फूलको व्यावसायिक उत्पादन काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, मोरङ, धनुषा, सप्तरी, कास्की, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीमा भएको छ।











