अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा थप १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएपछि चीनले त्यसलाई अमेरिकी ‘डबल स्ट्यान्डर्ड’ (दोहोरो मापदण्ड)को उदाहरण भनेको छ।
चीनको वाणिज्य मन्त्रालयले सोमबार दिएको वक्तव्यमा ट्रम्पले आफ्नो धम्की कार्यान्वयन गरे चीनले पनि त्यसको प्रतिकारमा आवश्यक कदम चाल्ने उल्लेछ छ। चीनले यस्तो परिस्थितिमा डर नमान्ने र आवश्यक परे व्यापार युद्धका लागि पनि तयार रहने स्पष्ट गरेको छ।
गत शुक्रबार ट्रम्पले दुर्लभ खनिज पदार्थ (रेयर अर्थ्स) निर्यातमा चीनले नियम कडा बनाएको कदमलाई ‘शत्रुतापूर्ण’ भन्दै प्रतिक्रिया दिएका थिए। उनले चीनले विश्वलाई नियन्त्रणमा राख्ने प्रयास गरेको आरोप पनि लगाए।
त्यस क्रममा उनले यसै महिनाको अन्त्यतिर हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बैठक रद्द गर्न सक्ने चेतावनी दिएका थिए। तर, आइतबार ट्रम्पले सामाजिक सञ्जालमा ‘चीनबारे चिन्ता नगर्नुहोस्, सबै ठीक हुनेछ’ भनेर लेखेका थिए।
उनले थप लेखेका छन्, ‘राष्ट्रपति सी अहिले खराब समयमा हुनुहुन्छ। उहाँ आफ्नो देशलाई आर्थिक मन्दीमा धकेल्न चाहनुहुन्न, म पनि चाहन्नँ। अमेरिका चीनलाई मद्दत गर्न चाहन्छ, हानि पुर्याउन होइन।’
ट्रम्पका यी अभिव्यक्तिपछि विश्व वित्तीय बजारमा अस्थिरता देखिएको छ। अमेरिकी सेयर बजारको सूचकांक एस एण्ड पी ५०० शुक्रबार २.७ प्रतिशतले घट्यो, जुन अप्रिलयता पछिको सबैभन्दा ठूलो गिरावट हो। विश्लेषकहरूका अनुसार ट्रम्पका शब्दहरूले पुनः अमेरिका र चीनबीच व्यापार युद्धको डर पुनर्जीवित गराएको छ।
यसअघि मे महिनामा अमेरिका र चीनबीच भएको सम्झौतामा एकअर्काका वस्तुमा लगाइएका उच्च शुल्क हटाउने निर्णय भएको थियो। त्यसपछि दुवै मुलुकबीच व्यापार पुनः सहज हुने अपेक्षा गरिएको थियो। तर, अहिले अमेरिकी वस्तुहरू चीन प्रवेश गर्दा १० प्रतिशत शुल्क तिर्नुपर्छ भने चिनियाँ वस्तुहरूमा अमेरिकाले करिब ३० प्रतिशत बढी शुल्क लगाएको छ।
चीनको वाणिज्य मन्त्रालयले ट्रम्पको चेतावनीपछि पत्रकारका प्रश्नहरूको लिखित जवाफ सार्वजनिक गर्दै अमेरिकाको रवैयालाई आलोचना गरेको छ।
मन्त्रालयले भनेको छ, ‘अमेरिकाले लामो समयदेखि राष्ट्रिय सुरक्षाको अवधारणा विस्तार गरी दुरुपयोग गरेको छ, निर्यात नियन्त्रणका उपायहरू अनुचित रूपमा प्रयोग गरेको छ, र चीनविरुद्ध विभेदपूर्ण नीति अवलम्बन गरेको छ।’
वक्तव्यमा थप भनिएको छ, ‘शुल्कको धम्की चीनसँग व्यवहार गर्ने उचित तरिका होइन। चीन सधैं स्पष्ट रहेको छ- हामी व्यापार युद्ध चाहन्नौं, तर त्यसबाट डराउँदैनौं पनि।’
गत हप्ता चीनले दुर्लभ खनिज र उच्च प्रविधि उद्योगमा प्रयोग हुने अन्य महत्त्वपूर्ण पदार्थहरूको निर्यातमा नयाँ नियन्त्रण नियम लागू गर्ने घोषणा गरेको थियो। यो कदमलाई धेरै विश्लेषकले महत्त्वपूर्ण रणनीतिक निर्णयका रूपमा हेरेका छन्।
चीनले विश्वको करिब ९० प्रतिशत दुर्लभ खनिज प्रशोधन गर्छ। यी खनिजको प्रयोग मोबाइल फोन, सौर्य प्यानल र अन्य प्रविधिजन्य सामग्रीमा हुन्छ।
वाशिङ्टन र बेइजिङबीचको पछिल्लो बयानबाजीलाई धेरैले आगामी व्यापार वार्तापूर्वको तयारीका रूपमा व्याख्या गरेका छन्। यसै महिनाको अन्त्यतिर दक्षिण कोरियामा हुने भनिएको ट्रम्प र सीबीचको सम्भावित बैठक हुने नहुने अहिले निश्चित छैन।











