
काठमाडौँ । काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न प्रशासनलाई आग्रह गरेको छ।
महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गर्ने निर्णय गरेको हो।
‘लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम अहिले पनि नरोकिएको गुनासो आएको छ,’ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएकाले लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न प्रशासनलाई लेखी पठाउने निर्णय बैठकमा भएको छ।’
लकडाउन अवधिमा अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गर्नुपर्नेछ। कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने विज्ञप्तिमा उल्लेख छ।
‘लकडाउनको उल्लंघन गरी अनुमति नलिई लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई समेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेका छौं,’ डंगोलले भने।
कोरोना संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयमसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डंगोलले जानकारी दिए।
अत्यावश्यक कामको लागि काठमाडौं प्रवेश गर्नेहरुको विवरण अद्यावधिक गरी निजको निगरानी गर्न आवश्यक देखिएको महानगरको ठहर छ। सम्बन्धित निकायले पास जारी गर्दा नै निजहरु काठमाडौंमा आई बसोबास गर्ने पालिका, वडा, टोल, सम्पर्क फोन नम्बर र घरधनीको नाम सहितको विवरण लिनुपर्ने छ। र सो विवरण काठमाडौं महानगरपालिका वा सम्बन्धित कार्यालयलाई उपलब्ध गराउन महानगरले अनुरोध गरेको छ।
लकडाउन अवधि लम्बिएसँगै चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखा पर्न थालेका छन्। यसको रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायको भूमिका र सक्रियता थप प्रभावकारी बनाउन गृह मन्त्रालयलाई अनुरोध गरिएको महानगरपालिकाले जनाएको छ।
लकडाउनको अवधिमा काठमाडौंमा बसोबास गर्ने कोही पनि भोकै बस्न नपरोस् भन्ने उद्देश्यले कामपाले सबै वडाहरुमार्फत तोकिएको श्रममा आधारित राहत वितरणको कार्य सञ्चालन गरिरहेको जानकारी पनि डंगोलले दिएका छन्।
अब असहाय व्यक्तिबाहेक दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु र बेरोजगारको लागि तोकिए बमोजिम श्रममा आधारित राहत सहयोग मात्र वितरण गर्न कार्यविधि तयार गरी कार्यान्वयन गर्ने निर्णय भएको उनले जानकारी दिए।
लकडाउनको अवधिमा दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति, औषधि, ग्यास, खानेपानी पसल वाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसलहरु दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय गर्ने निर्णय पनि महानगरपालिकाले गरेको छ।
‘काठमाडौं महानगरपालिकाका सबै वडा समितिहरुले लक डाउनको अवधिमा विदेश, उपत्यका बाहिरबाट आएर आफ्नो वडामा बसोबास गर्दै आएका व्यक्तिको विवरण तोकिएको ढाँचामा राख्ने, उनीहरुको निगरानी गर्ने, स्वास्थ्य परीक्षण गरे नगरेको विवरण अद्यावधिक गर्ने र सो सम्बन्धी एकीकृत विवरण वडा कार्यालयहरुले दैनिक रुपमै प्रशासन विभागमा पठाउने व्यवस्था मिलाउने निर्णय भएको छ,’ डंगोलले विज्ञप्तिमा भनेका छन्।











