काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले सोमबार भैरहवाबाट काठमाडौंमा उद्धार उडान गर्ने भएको छ। एनएसीले १५८ सिटको न्यारोबडी जहाजमा उद्धार उडान गर्ने भएको हो।
उडानका लागि एनएसीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति मागेको छ। एनएसीका प्रवक्ता सुवास डाँगीले क्यानबाट अनुमति पाएको अवस्थामा सोमबार अपराह्न १ बजे उद्धार उडान गर्ने तयारी रहेको जानकारी दिए।
‘सडकमा अवरोधका कारण धेरै यात्रु भैरहवामा रोकिएको जानकारी पाएका कारण हामी भोलि अपराह्न १ बजे उद्धार उडान गर्ने तयारीमा लागेका हौं। क्यानबाट अनुमति पाउन बाँकी छ,’ डाँगीले भने।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एनएसीलाई उद्धार उडानको अनुमति दिने प्रक्रिया अगाडि बढाएको जानकारी दिए।
‘एनएसीको पत्र पाएपछि हामीले आवश्यक प्रक्रिया अगाडि बढाएका छौं। सोमबार बिहानसम्म निर्णय हुन्छ। विपद्को समयमा उद्धार उडानका लागि अनुमति नदिने भन्ने हुँदैन,’ उनले भने।
पोहोर दसैंमा पनि यात्रुहरुले जहाजको टिकट पाउन नसकेपछि एनएसीले न्यारोबडी जहाजमा भैरहवामा एउटा उडान गरेको थियो।










