मंगलबारदेखि खुल्दै सेयर बजार, २ प्रतिशत घटबढ हुँदा सर्किट लाग्ने, भुक्तानी विद्युतीय माध्यमबाट



बिजमाण्डू
२०७७ बैशाख २६ गते १८:०६ | May 8, 2020
मंगलबारदेखि खुल्दै सेयर बजार, २ प्रतिशत घटबढ हुँदा सर्किट लाग्ने, भुक्तानी विद्युतीय माध्यमबाट

Tata
GBIME
Nepal Life

काठमाडौ। चैत्र ११ गते देखि बन्द भएको सेयरबजार बैशाख ३० गते मंगलबारदेखि खुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सूचना जारी गर्दै कार्यालयहरु आइतबारदेखि र सेयर कारोबार मंगलबारदेखि खोल्न निर्देशन दिएको छ।

बोर्डले नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रोबजार कारोबार खोल्ने निर्णय गरेको जनाएको छ।
अहिलेका लागि बजार दैनिक दुई घण्टा ११ बजेदेखि १ बजेसम्म मात्रै खुल्ला हुनेछ। दिनमा ३ प्रतिशतभन्दा बढी परिवर्तन नहुने गरि कारोबार गर्ने व्यवस्था गरिएको छ।

कारोबारको रकम अनिवार्य रूपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने र साउन १ गतेपछि कारोबार पनि अनिवार्य रूपमा अनलाइन माध्यमबाट गर्नुपर्ने बोर्डले जनाएको छ।

लगानीकर्ताले अनिवार्य रूपमा 'मेरो सेयर'बाट राफसाफ गर्नुपर्ने र असारसम्म मेरो सेयरको खाता खोल्दा शुल्क नलाग्ने पनि बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

धितोपत्रको कारोबारसँग सम्बन्धित कार्यालय खोल्दा एक तिहाइ कर्मचारीमार्फत आलोपालो गरि खोल्न बोर्डले निर्देशन दिएको छ।
त्यस्तै एक तिहाइ कर्मचारीको लागि एक चौथाई सवारीलाई मात्र बोर्डले पास दिने जनाएको छ। त्यसका लागि कार्यालय प्रमुखले सवारी साधनको विवरण बोर्डमा दिनु पर्नेछ।

लगानीकर्तालाई पनि पास चाहिएमा ब्रोकरको सिफारिसमा एकपटकका लागि पास उपलब्ध गराउने बोर्डले जनाएको छ।