काठमाडौं। श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले सर्वसाधारणका लागि असोज २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकालाई बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले सर्वसाधारणलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता सेयर छुट्याएको छ।
कम्पनीको सेयरमा लगानीकर्ताले असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन्। श्रीनगर एग्रिटेकले यसअघि १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई वितरण गरिसकेको छ।
यस्तै, कम्पनीले ३ लाख ९ हजार ३८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँट गरेको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको आइपीओ निष्कासन गर्न अनुमति पाएको छ।
आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इम्भेष्टमेन्ट बैंकिङ छ। गत आर्थिक वर्षसम्म सञ्चित नाफा २ करोड १९ लाख रुपैयाँ रहेको वित्तीय विवरण कम्पनीले पेस गरेको छ।
कम्पनीको प्रति सेयर आम्दानी १.६८ रुपैयाँ तथा प्रति सेयर नेटवर्थ १०२.१३ रुपैयाँ छ।











