काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको सम्बन्ध विगतमा जस्तो तिक्ततापूर्ण नहुने बताएका छन्।
प्राधिकरणले शुक्रबार आफ्नो स्वागतमा राखेको कार्यक्रममा कुलमानले मन्त्रालयले कुनै किसिमको हस्तक्षेप नगर्ने बताए।
‘पछिल्लो एक वर्ष ऊर्जा मन्त्रालय र प्राधिकरणको सम्बन्ध निक्कै तिक्ततापूर्ण रह्यो। प्राधिकरणका हरेकजसो काममा मन्त्रालयबाट हस्तक्षेप भएको यहाँहरुलाई जानकारी नै छ। अब त्यस्तो हुनेछैन। हामी आपसमा मिलेर काम गर्नेछौं। मन्त्रालयले हस्तक्षेप गरेर अप्ठेरो पार्नेछैन,’ उनले भने, ‘हामी डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने विषयमा एक ठाउँमा उभिनेछौं।’
यसअघिका ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणका हरेकजसो काममा हस्तक्षेप गरेका थिए। कर्मचारी सरुवाको अधिकार समेत आफूमा तानेका खड्काले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन भाँजो हालेका थिए। डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन खोज्दा खड्काले गत चैत दोस्रो साता कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेका थिए।
जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनपछि खड्काको जागिर गएको छ भने ऊर्जा मन्त्रालयको नेतृत्व कुलमानले पाएका छन्। उनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन आफूसँग ट्युनिङ मिल्ने मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएका छन्।

कुलमानले उद्योगीहरुले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्ने विश्वास व्यक्त गरे। ‘बक्यौताको विषयमा हामी गम्भीर छौं। आजको देशको परिस्थिति हेरेर उद्योगी साथीहरू आउनुहुन्छ भन्ने विश्वास छ। उहाँहरूलाई कुनै धम्की दिदैनौं,’ उनले भने।
कुलमानले प्राधिकरणका कर्मचारीलाई जेनजीको भावनालाई ख्याल गरी सुशासनलाई बल पुग्ने गरी काम गर्न आग्रह गरे। ‘जेनजीको चाहना के हो भन्ने तपाइँहरुले थाहा पाउनु भएकै छ। त्यसैले भ्रष्टाचारको कल्पना पनि नगर्नुहोला। भ्रष्टाचार गरेको र घुस लिएको जानकारी भयो भने ठाउँको ठाउँ कारबाही हुन्छ,’ उनले भने।











