काडमाडौं। नौरथा सुरु भइसक्दा पनि अहिले बजारमा फलफूल बिक्री कम भएको छ। हरेक वर्ष नौरथा लागेपछि बजारमा फलफूल खपत बढ्ने गरेको भए पनि यो वर्ष माग निकै कम भएको व्यवसायीले बताएका छन्।
कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँले नौरथा सुरु भइसक्दा पनि फलफूलको बिक्री नबढेको बताए।
‘अहिले बिक्री छैन,’ उनले भने, ‘जेनजी आन्दोलनपछि बजारमा फलफूलको मूल्यमा धेरै उतारचढाव भएको छैन। बिक्री नहुँदा भाउ घटिरहेको छ।’
पहिले ६०० रुपैयाँ प्रति क्रेट पर्ने त्रिवेणीको केरा अहिले ३ सय देखि ४ सय रुपैयाँमा पनि नबिक्ने अवस्था आएको छ।
आयात गरिएका फलफूल धेरै ढिला आइपुगेको छ। उत्तरी नाका र बन्दरगाह हुँदै आइपुग्न समय लागेपछि पहिले जस्तो फ्रेस फलफूल अहिले बजारमा छैनन्।
जेनजी आन्दोलनपछि बजारमा पहिले जस्तो रौनक नभएकोले त्यसको असर फलफूल बजारमा पनि परेको बानियाले बताए।
‘अहिले फलफूलको बजार डाउन छ। प्रति कार्टुन २ हजार ७०० पर्ने चिनियाँ आँप अहिले प्रति कार्टुन ५ सय देखि १००० रुपैयाँमा बिक्री गर्नुपर्ने भएको छ। पहिरोले बाटो अवरुद्ध बनाएपछि फलफूल कुहिएर आइरहेको छ,’ उनले भने।
त्यस्तै, स्याउको बिक्री पनि उल्लेख्य भएको छैन। बजारमा स्वदेशी तथा भारतीय र चिनियाँ स्याउ उपलब्ध छन्। स्वदेशी स्याउ मुस्ताङमै महँगो भएकोले आयात गरेको भन्दा बढी पर्छ। जसले गर्दा यसको बिक्री यो वर्ष कम भएको उनले जानकारी दिए।
कुलेश्वरका फलफूल व्यवसायी रुद्र पाठकले यतिबेला पसल खोल्ने मात्र काम भएको बताए। राति ३ बजेदेखि खोलेको पसलमा २ क्रेट मात्र फलफूल बिक्री भएको भन्दै उनले ग्राहकहरू उपत्यका बाहिर जान थालेपछि बिक्री कम भएको बताए।
‘फूलपातिदेखि बिक्री बढ्छ भन्ने अनुमान छ। अहिले थोक बजार सुनसान छ,’ उनले भने।
यतिबेला बजारमा गत वर्षको जस्तो रौनक छैन। बजारमा खपत नहुँदा फलफूल स्टक बसेका छन्।
उनले भने, ‘स्याउ र अनार जस्ता केही फलफूलमात्र स्टोर गर्न सकिन्छ। केरा, मेवाहरू चाँडै बिग्रने भएकोले स्टोर गर्न मिल्दैन। दसैं लक्षित गरेर मगाइएका फलफूल ढिला आउँदा बिग्रिएर आएका छन्।’
गत सातासम्म ३ हजारदेखि ३५ सय रुपैयाँ पर्ने मुस्ताङको स्याउ घटेर प्रति क्रेट (१० केजीको) २५ सय रुपैयाँमा आउँदा पनि बिक्री हुन सकेको छैन। कुलेश्वरको थोक पसलमा अधिकांश फलफूलको भाउ घटेको छ।
मेवा प्रति केजी ६० देखि ८० रुपैयाँसम्म पाइन थालेको छ। अनार कार्टुनको ४ हजारदेखि ४५ सय रुपैयाँमा पाइन्छ। चिनियाँ स्याउलाई प्रति क्रेट (२० केजीको) गुणस्तरअनुसार ४५ सय देखि ५ हजार रुपैयाँ पर्छ।











