काठमाडौं। निजी क्षेत्रका कर्मचारीहरूलाई तलब सुविधा वितरण गर्नका लागि पनि नेपाल राष्ट्र बैंकले ऋणको व्यवस्था मिलाएको छ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकको संयुक्त कार्यदलको सुझावका आधारमा राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै तलब वितरण प्रयोजनका लागि सस्तो दरको ऋण व्यवस्था मिलाएको हो।
यो सुविधा जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग, प्रतिष्ठानहरूले पाउने छ। उनीहरूले आधार दरमा ०.५ प्रतिशत ब्याजमा ऋण पाउने छन्।
यस्तो कर्जा बढीमा एक वर्षको हुने छ। अर्थात एक वर्षभित्र भुक्तानी गरिसक्नु पर्छ। यसरी प्रभाव भएको कर्जाको ब्याज दरमा सकारले २ प्रतिशत ब्याज अनुदान दिने छ। यो अनुदान सुरुको ६ महिनाका लागि हुने छ। ऋण लिनका लागि पुसभित्र निवेदन दिइसक्नु पर्ने छ।
राष्ट्र बैंकले १ सय जना महिलाई रोजगारी दिई कम्तीमा २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कुल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई आधार दरमा १ प्रतिशत मात्र प्रिमियम लिएर ऋण उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ।











