काठमाडौं। सरकारले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्मालाई नेपाल बीमा प्राधिकरणको अध्यक्ष बनाएको छ।
अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो। मन्त्री खनालले शर्मालाई शुक्रबार पद तथा गोपनियताको शपथ गराएका छन्।
शर्मा आन्तरिक राजस्व विभागको उपमहानिर्देशक हुनुअघि भन्सार विभागको उपमहानिर्देशक थिए। उनी गत साउन ३० गते भन्सारबाट आन्तरिक राजस्व विभागमा सरुवा भएका थिए।
प्राधिकरणमा यसअघि अर्थ मन्त्रालयकै सहसचिव सेवन्तक पोखरेल अध्यक्षको जिम्मेवारीमा थिए। सरकारले भदौ २ गते बर्खास्त गरेका शरद ओझा पोखरेल कार्यरत रहेकै अवस्थामा केही दिनअघि अदालतको आदेश भन्दै हाजिर गर्न पुगेका थिए।
त्यसपछि अर्थ मन्त्रालयले प्राधिकरणमा पत्र नै लेखेर ओझालाई कार्यालय छिर्न नदिन निर्देशन दिएको थियो। सर्वोच्च अदालतले भदौ २३ गते प्राधिकरणमा अध्यक्षको नयाँ नियुक्ति प्रक्रिया अगाडि नबढाउन र ओझालाई बर्खास्तको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश थियो।
योग्यताको फर्जी कागजात पेस गरेर नियुक्ति लिएका ओझालाई सरकारले साउन ३० गते निलम्बन गरी न्यायिक समिति गठन गरेर छानबिन गरेको थियो। समितिले ओझासँग प्राधिकरणको अध्यक्षका लागि आवश्यक योग्यता नरहेको प्रतिवेदन बुझाएपछि सरकारले भदौ २ गते बर्खास्त गरेको थियो।









