‘जेनजी कर्मचारी’ माग लक्षित मन्त्री खनालको वक्तव्य, ‘मनोबल कमजोर पार्ने क्रियाकलापमा संलग्न नहुनु’



बिजमाण्डू
२०८२ असोज ८ गते २२:४३ | Sep 24, 2025
‘जेनजी कर्मचारी’ माग लक्षित मन्त्री खनालको वक्तव्य, ‘मनोबल कमजोर पार्ने क्रियाकलापमा संलग्न नहुनु’

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको मर्मअनुसार रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्नेतर्फ लाग्न कर्मचारीलाई आह्वान गरेका छन्।

Tata
GBIME
Nepal Life

सार्वजनिक प्रशासन रूपान्तरणका लागि भन्दै केही कर्मचारीहरूले मुख्य सचिवसहितका विशिष्ट  कर्मचारीमाथि कारबाहीको माग अघि बढाइरहेका बेला मन्त्री खनालले कार्यालयको काममा बाधा पर्ने कुनै काम नगर्न पनि आग्रह गरेका छन्।

मुख्यसचिव, संसद्का महासचिव तथा सर्वोच्चका मुख्य रजिस्टारसम्मलाई कारबाहीको माग राखेर केही कर्मचारीले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएलगत्तै मन्त्रीले वक्तव्यमार्फत कर्मचारीको मनोबल कमजोर पार्ने कुनै काम नगर्न आग्रह गरेका हुन्।

मन्त्री खनालको वक्तव्यमा भनिएको छ, ‘सबै सरकारी कार्यालयहरूमा सुरक्षित कार्य वातावरण निर्माण गरी निर्बाध सेवा प्रवाह सुनिश्चित गर्न समेत नेपाल सरकार प्रतिबद्ध छ। तसर्थ सम्पूर्ण निजामती कर्मचारीहरूको केन्द्रीय निकाय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीको हैसियतमा म सबै कर्मचारी साथीहरूलाई स्वतःस्फूर्त रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नमा केन्द्रित हुन र कर्मचारीको मनोबल कमजोर पार्ने खालका क्रियाकलाप एवम् कार्यालयको काममा बाधा पर्ने गरी अन्य कुनै गतिविधिमा संलग्न नहुन आह्वान गर्दछु।’

राष्ट्र सेवक कर्मचारीको वृत्ति विकास एवं सेवा सुविधामा असर पर्ने गरी कुनै निर्णय नलिने खनालको वक्तव्यमा उल्लेख छ। प्रक्रियागत सरलता, शीघ्रता र पारदर्शीतासहितको गुणस्तरीय सेवा प्रवाहमा अविच्छिन्नता सुनिश्चित गर्न पनि उनले कर्मचारीलाई आग्रह गरेका छन्।

जेनजी आन्दोलनको मर्म अनुसार आफूलाई रूपान्तरण गरी नागरिकको अपेक्षा पूरा गर्नु कर्मचारीको दायित्व भएको वक्तव्यमा उल्लेख छ।