काठमाडौं। कोभिड-१९ का कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धि दर सरकारकाे प्रारम्भिक लक्ष्यभन्दा निक्कै नै घट्ने भएको छ। राष्ट्रिय योजना आयोगअन्तर्गतको तथ्याङ्क विभागले चालु वर्ष आधारभूत मूल्यमा आर्थिक वृद्धि २.२७ प्रतिशत हुने नयाँ संशोधन सार्वजनिक गरेको छ।
सरकारले चालु वर्ष साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको थियो। कोभिड-१९ ले अर्थतन्त्र प्रभावित नभएकाे भए पनि सरकारी लक्ष्य पूरा हुने अवस्था थिएन।
'कोभिड-१९ को असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिए पनि चालु वर्षको अनुमान तयार गर्दा होटेल तथा रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र अत्यधिक प्रभावित रहने तथा अन्य क्षेत्रहरु जेठबाट क्रमश: नियमित हुने विश्वास गरी अनुमानहरु तयार गरिएको छ' विभागको प्रतिवेदनमा उल्लेख छ।
कोभिड-१९ ले पर्यटन क्षेत्र मात्र प्रभावित हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए। उनले पत्रकार सम्मेलनमा अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान तीन प्रतिशत मात्र रहेकाले ठूलो असर नपर्ने बताएका थिए। तर तथ्याङ्क विभागले भने अर्थतन्त्र असामान्य रुपमा प्रभावित भएको उल्लेख गरेको छ।
गत आर्थिक वर्ष देशको अर्थतन्त्र ६.७५ प्रतिशत भएको संशोधित अनुमान पनि सार्वजनिक गरेको छ। त्यसअघिको वर्ष आर्थिक वृद्धी ६.३५ प्रतिशत थियो।
प्राथमिक क्षेत्रको वृद्धि सामान्य बढेको छ। यसभित्र कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन् पर्छन्। चालु वर्ष यो क्षेत्रले २८.२ प्रतिशत योगदान गरेको प्रारम्भिक अनुमान छ। अघिल्यो वर्षको तुलनामा यस वर्ष वृद्धि २.५४ प्रतिशत छ। धानको उत्पादनमा कमी तथा कोभिड-१९ महामारीको असरलाई न्यून गर्नका लागि अवलम्बन गरिएको प्रयासबाट आपूर्ति प्रणालीमा आएको रोकावटले गर्द यस क्षेत्रको उत्पादनमा गत वर्षको भन्दा न्यून वृद्धि देखिएको हो।
द्वितीय क्षेत्रभित्र पर्ने निर्माण, उद्योग र विद्युत, ग्यास तथा पानी क्षेत्रको योगदान १३.७२ प्रतिशत छ। गत वर्षको तुलनामा यसपालि यो क्षेत्रको वृद्धि ३.३६ प्रतिशत हुने विभागको अनुमान छ।
सेवा क्षेत्र सबैभन्दा नराम्ररी प्रभावित भएको विभागको बुझाइ छ। यो क्षेत्रभित्र थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियल इस्टेट, व्यवसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्छ।
चालु वर्ष कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रको योगदान ५८.०८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा यो क्षेत्रको कुल मूल्य अभिवृद्धि दर स्थिर मूल्यमा १.९९ प्रतिशत हुने प्रारम्भिक अनुमान विभागको छ। होटेल तथा रेष्टुरेन्ट तथा हवाइ यातायातमा कोभिड-१९ को महामारीले गर्दा प्रत्यक्ष असर पारेको छ।
चालु वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको २७.६५ तथा गैरकृषि क्षेत्रको ७२.३५ प्रतिशत योगदान रहेको छ। चालु वर्ष जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.०९ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। अघिल्लो वर्षको तुलनामा यो २.२७ प्रतिशतले कम हो। निर्माण क्षेत्रको वृद्धि दर पनि ऋणात्मक हुनेछ।
होटल तथा रेष्टुरेन्टको योगदान १.४१ प्रतिशत छ। यसपालि यस क्षेत्रको वृद्धि दर १६.३ प्रतिशतले ऋणात्मक हुने छ। यातायात तथा सञ्चार पनि २.४५ प्रतिशतले ऋणात्मक हुने देखिएको छ।
स्थिर मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन वृद्धि दर आधारभूत मूल्यमा २.२७ प्रतिशत रहनुका साथै चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा ५० खर्ब ९२ अर्ब रूपैयाँ रहनेछ।
चालु मूल्य अनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्य १७ खर्ब ४३ अर्ब रूपैयाँ रहनेछ। चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब र आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब रुपैयाँ हुनेछ।










