काठमाडौं। जेनजीको आन्दोलनका क्रममा सर्वोच्च अदालत जलाउँदा पेट्रोलबाहेक ‘मेटल’ समेत जल्ने केमिकल प्रयोग गरिएको आशंका गरिएको छ।
अदालतको स्टिल दराज समेत नष्ट भएपछि मेटल समेत जल्ने केमिकल मिसाएको आशंका गरिएको हो।
‘नियोजित रुपमै विभिन्न मुद्दाका कागजात नष्ट गर्ने उद्देश्यसहित आगो लगाएको देखिन्छ। सिंहदरबारभित्रका स्टिलका दराज नजल्ने तर यहाँको जलेर कागजपत्र पनि काम नलाग्ने अवस्थामा पुग्नुमा विशेष प्रकृतिको केमिकल मिसाएको अनुमान हामीले गरेका छौं,’ सर्वोच्चका एक कर्मचारीले भने, ‘यसको सत्यतथ्य जाँचका लागि सुरक्षा निकायलाई अनुसन्धान गर्न भन्दैछौं।’
ती कर्मचारीका अनुसार अत्यन्तै गम्भीर प्रकृतिको घट्ना भएकाले यसमा गम्भीर अनुसन्धान आवश्यक देखिएको छ। ‘यो अत्यन्तै गम्भीर प्रकृतिको विषय हो। यसलाई मिहिन ढंगले अनुसन्धान गर्नुपर्छ भन्नेमा सम्माननीय प्रधानन्यायाधीशज्यू दृढ हुनुहुन्छ।’

सर्वोच्चले घटनाको क्षति र प्रकृतिबारे मुचुल्का गर्न टोली बनाएको छ।
अदालतमा छानीछानी भएको थियो आगजनी
कास्की जिल्ला अदालतभित्र नयाँ र पुरानो गरेर दुई वटा भवन छन्। विशेष प्रकृतिका र धेरै प्रतिवादी भएका फाइलहरू पुरानो भवनमा नै राख्ने गरिन्छ। पछिल्लो समय अदालतमा सहकारी ठगी सम्बन्धी केसमा धेरै प्रतिवादी छन्।
सहकारीका फाइल कास्की अदालतको ३ नम्बर फाँटमा छन्। भदौ २४ गते जेनजीको प्रदर्शनमा ३ बजेसम्म अदालत प्रदर्शनकारीको निशानामा परेन। अन्य सरकारी भवन, प्रहरी कार्यालय तोडफोड र आगजनी भएपछि करिब ४ बजेतिर मात्र प्रदर्शनकारी अदालतमा प्रवेश गरेका थिए। त्यतिखेर कर्मचारी केही काममा र त्रासमा नै थिए।
‘४ बजेतिर सुरु भएको हुनुपर्छ। सुन्नमा आए अनुसार सहकारीका फाइल जलाउन आएको र सुरुमा त्यही फाँटबाट भएको बुझिएको छ,’ जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले भने।
त्यसपछि अरूतिर पनि फाइल जलाइयो। पुरानो भवन र त्यहाँ भएका सबै फाइल जलेका छन्। नयाँ भवन पनि बस्न नमिल्ने अवस्थामा छ।
कास्की जिल्ला अदालतमा धेरै प्रतिवादी भएको सहकारी ठगीको केस सूर्यदर्शन सहकारी पनि हो। १० जनाभन्दा धेरै अन्य प्रतिवादी भएका केस पनि छन्। यो केसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जोडिएकाले धेरै चर्चामा रह्यो। रविलाई प्रहरीले पक्राउ गरेपछि पोहोर कात्तिकमा पोखरा केही समय रास्वपाको आन्दोलनले गरम पनि बन्यो।
जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख धरौटीमा रिहा गर्यो। रविविरुद्ध अन्य जिल्ला अदालतमा मुद्दा थिए। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा चैत २५ गते उनलाई भैरहवा कारागार चलान गरिएको थियो। कारागार सरुवा मागेपछि उनलाई गत साउन अन्तिम साता ललितपुरको नख्खु कारागारमा ल्याइएको थियो।
रवि जेनजीको प्रदर्शनको दोस्रो दिन नख्खु कारागारबाट निस्किएका थिए। उनी करिब ३ बजेतिर उनी निस्किएपछि देशभरकै कारागारबाट १४ हजार भन्दा बढी कैदी भागेका थिए। भागेकामध्ये ७ हजार अझै बाहिर छन्। कतिपय कैदीले अपराध गरेका घटना पनि आइरहेका छन्।
+++
भदौ २४ गते ३ बजेपछि मात्र देशभर अदालत जल्न थालेको देखिएको छ। जसमा ठूला प्रकृतिका केस रहेका अदालत प्रदर्शनकारीको टार्गेटमा परेका छन्। जिल्ला अदालत काठमाडौं भीआइपी जोडिएका केस भएको अदालत हो। काठमाडौं जिल्ला अदालतमा सुन तस्करी, भुटानी शरणार्थीदेखि सहकारी ठगीका मुद्दा विचाराधीन छन्।

भदौ २४ गतेको घटनामा जिल्ला अदालत काठमाडौंमा पनि विभिन्न मुद्दाका फाइल शंकास्पदरुपमा जलाइएको छ। अदालतको फाँट नम्बर ९ र १३ सबैभन्दा बढी निशानामा परेको छ। त्यस्तै २१ नम्बर फाँटमा पनि आगजनी भएको छ। यी तीन वटा फाँट भुटानी शरणार्थी, सुन प्रकरण र सहकारीका मुद्दासँग जोडिएका छन्। यीसँगै रहेका अन्य केही फाँटमा सामान्य क्षति भएको छ।
१३ नम्बर फाँटमा सहकारी र ललिता निवासको केससम्बन्धी फाइल थिए। यो फाँटमा पूर्णरुपमा क्षति पुगेको छ। देशको सबैभन्दा सुविधा सम्पन्न अदालत भवनमा पर्छ काठमाडौं। जहाँ तीन वटा भवन छन्। आगजनी भएको १ नम्बर भवन हो।
९, १३ र २१ नम्बर बाहेक १ नम्बर र ६ नम्बर फाँटमा पनि असर पुगेको छ। फैसला भइसकेका ५ लाखभन्दा बढी अभिलेख पनि जलाइएको छ। केही फाँटका मिसिल गायब भएका छन्।
भदौ २४ गते काठमाडौं जिल्ला अदालतमा साढे २ बजे सामान्य तोडफोड भएको थियो। तर जिल्ला प्रशासन कार्यालय जलाएपछि त्यही भीड अदालतमा प्रवेश गरेको थियो। भिडले सुरुमा केही फाइल खोजेको सुनिएको अदालतका एक कर्मचारीले बताए।
‘फलानो फाइल भन्दै खोजेको पनि सुनियो। जहाँ अलिक ठूला केसका फाइल थिए। त्यही जलाएको देखियो। भागेका कैदी आएको भन्ने पनि सुनिएको छ,’ अदालतका एक कर्मचारीले भने।
+++
सर्वोच्चका साथै ७ वटा उच्च अदालत, विशेष अदालत र १४ वटा जिल्ला अदालतमा आगजनी भएको छ। सर्वोच्च अदालतमा पनि ३ बजेपछि आगलागी भएको हो। सिंहदरबारपछि सर्वोच्च अदालतमा आक्रमण भएको थियो। प्रदर्शनकारी पेट्रोल बमसहित अदालत पुगेका थिए। सुरक्षाकर्मीको हतियार समेत प्रर्दशनकारीले खोसेका थिए।
अदालतमा छिरेको समूहले मिसिल, कागजपत्र रहेको ठाउँमा नै पहिलो आक्रमण गरेको देखिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कारागारबाट भागेका व्यक्तिको आक्रमणमा अदालत परेको सांकेतिक रुपमा बताएका छन्।
कारागारबाट भागेका कैदीहरू अन्त नगई सिधै अदालत पुगेको उनको भनाइ छ। पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा राउतले भनेका छन्, ‘जेल फोड्दै जाने कहाँ अन्त होइन सिधा अदालत आउने। आफ्नो मुद्दा फाइल त्यसपछि प्रमाण कहाँ छन् त्यसलाई नष्ट गर्दै जाँदा खेरी आफ्नो फाइल भेटे भने अदालत नै आगो लगाइदिने।’

उनले काठमाडौं लगायत अन्य जिल्लाका अदालतमा पनि एउटै प्रवृत्ति देखिएको दाबी गर्दै नयाँ सरकारले गम्भीर छानबिन गर्नुपर्ने बताएका छन्।
सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतको टिनको दराजभित्र लक गरेर राखिएको फाइल समेत जलेका छन्। ‘हामीलाई यस्तो दराज जलेकोमा आशङ्का छ। कुनै केमिकल पनि मिसाएर आगो लगाएको हो कि भन्ने छ,’ ती कर्मचारीले भने।
नेता नै लिन पुगे कारागार !
सहकारी ठगीमा नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि कारागारको सुरक्षा घेरा तोडेर निस्किएको देखिएको छ।
रविलाई लिन रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री मनिष झा, गणेश कार्की र सांसद हरि ढकाल भिडसहित पुगेको भिडिओमै देखिन्छ।
दुईपटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका रवि कारगारबाट विजयीभावमा निस्किएका थिए।
उनी निस्किएपछि सोही कारागार र काठमाडौंको सुन्धारा कारागारसँगै अन्य जिल्लाबाट कैदीहरु निस्किएका थिए।
काठमाडौंको डिल्लीबजार कारागारबाट भदौ २५ गते कैदीहरु भाग्न खोजेका थिए। उनीहरूले रविलाई छोड्ने हामीलाई नछोड्ने भन्दै नाराबाजी गरेका थिए। तर नेपाली सेनाले उनीहरूलाई निस्किनबाट रोकेको थियो।
रवि कारागारबाट निस्किएको विषयमा रास्वपाभित्र चर्को विरोध भएको थियो। यो विषयमा असन्तुष्टि जनाउँदै सुमना श्रेष्ठले रास्वपा परित्याग गरेकी छन्।
रास्वपाका कतिपय नेताले रविलाई सुरक्षा थ्रेटका कारण कारागार प्रशासनकैअनुमतिमा निकालेको दाबी गरेका छन्। यसका लागि उनीहरुले ‘फर्जी’ कागज बनाएको देखिइसकेको छ। सुरक्षा थ्रेट भएको भनिएका रविलाई सनरुफवाला गाडी पर्खिएर हात हल्लाउँदै निकालिएको थियो।










