काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात



बिजमाण्डू
२०८२ असोज ८ गते ०७:०८ | Sep 24, 2025
काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट २ अर्ब ८४ करोड ४८ लाख ८४ हजार रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।

Tata
GBIME
Nepal Life

मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ १० करोड ६१ लाख २८ हजार रुपैयाँ अर्थात ३.६० प्रतिशतले घटेको छ। यद्यपि, पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व ०.५० प्रतिशत अर्थात ६४ लाख ३ हजार रुपैयाँले बढेको उनले बताए।

कार्यालयको तथ्याङ्क अनुसार गत साउन/भदौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट १ अर्ब ३९ करोड ८६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ मूल्य बराबरको १६ हजार ३ सय ५२ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी, ८४ करोड ४२ लाख रुपैयाँ मूल्य बराबरको ९ हजार ४ किलोलिटर डिजेल आयात भएको छ।

यसैगरी, ४० करोड ४९ लाख रुपैयाँ मूल्य बराबरको ४ हजार २ सय ३३ मेट्रिक टन एलपी ग्यास, १३ करोड २८ लाख रुपैयाँ मूल्य बराबरको १ हजार ४८८ किलोलिटर एटीएफ र २ करोड २२ लाख रुपैयाँ मूल्य बराबरको २ सय ४८ किलोलिटर मट्टितेल आयात भएको छ। रासस