निर्माण सामाग्री बोकेको ट्रकलाई काभ्रेमा स्थानीयको अवरोध, गौशाला-चाबहिल सडकको काम रोकियो



बिजमाण्डू
२०७७ बैशाख ९ गते १५:३८ | Apr 21, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। निर्माण सामाग्रीका बोकेका ट्रक काभ्रेमै रोकिएपछि चाबहिल-गौशाला सडक निर्माणको काम रोकिएको छ।

निर्माण सामाग्री ल्याउन नसकिएका कारण कामै रोक्नुपर्ने अवस्था आएको डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले बताए।

काभ्रेको भुम्लु गाउँपालिका-१० मा चिप्स लगायत निर्माण सामाग्री बोकेका करिब सात वटा गाडी तीन दिनदेखि रोकिएका छन्।

जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाले स्वीकृति दिएको भएपनि स्थानीयले रोकेको बताइएको छ। त्यसैगरी रोशी गाउँपालिकाबाट पनि ढुंगा, गिटी लगायतका निर्माण सामाग्री ल्याउन नसकिएका कारण उपत्यकाका पुतलीसडक लगायतमा सुरु गर्न लागिएको ओभर-लेको कामसमेत रोक्नुपर्ने भएको छ।    

करिब ७० जना कामदारको १० को समूह बनाएर सामाजिक दुरी कायम गर्दै लकडाउनमै पनि ओभर-ले भइरहेको थियो।

इन्जिनियर नेपालीले स्थानीयसँग वार्ता भइरहेको बताए। स्वीकृति भए निर्माण सामाग्री आउनेबित्तिकै चाबहिल-गौशाला र विभिन्न ठाउँमा ओभर-ले को काम सुरु हुने उनको दाबी छ। तर स्थानीयले भने अझै गाडी छाड्न मानेका छैनन्।

डिभिजन सडक कार्यालयले मंगलबार एउटा सेक्सनको पीच थाल्ने र अर्को खण्डको तयारी भइरहेको थियो। चाबहिल चोकबाट धोबीखोला  पुलखण्डमा ओभर-ले गर्न लागिएको थियो। उक्त खण्डमा खानेपानी साइट क्लियर रहेका कारण ओभर-ले गर्ने तयारी गरिएको हो।

करिब एक सातामा यो सेक्सनको काम सक्ने लक्ष्य थियो तर निर्माण सामाग्री ल्याउन नसकिएका कारण काम रोकिएको छ। गौशालाबाट चाबहिल हुँदै चुच्चेपाटी खण्डमा भने खानेपानीको लिकेज मर्मत भइरहेको छ। यो खण्डमा अहिलेको पीच भत्काएर त्यसलाई रोलरले पेलेर नयाँ कालोपत्रे हाल्न लागिएको छ।

करिब १५ दिनमा सक्ने भन्दै लकडाउनमै चाबहिल-गौशाला सडक कालोपत्रे गर्न लागिएको भए पनि निर्माण सामाग्री ल्याउन नसक्दा निर्माण अनिश्चित बनेको छ।