एसिया कप: पाकिस्तान भारतसँग फेरि पराजित, खेलाडीले फेरि मिलाएनन् हात



बिजमाण्डू
२०८२ असोज ६ गते ०६:१८ | Sep 22, 2025
एसिया कप: पाकिस्तान भारतसँग फेरि पराजित, खेलाडीले फेरि मिलाएनन् हात
पाकिस्तानी ब्याटरको अर्धशतक सेलिब्रेसन। तस्बिर: एसीसी

एसीसी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई हराएको छ। यूएईको दुबई क्रिकेट मैदानमा सम्पन्न सुपर फोर अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। पाकिस्तानका लागि शहिबजादा फरहानले सर्वाधिक ५८ रन बनाउँदा सैइम अय्युब र मोहम्मद नवाजले समान २१ रन बनाए। बलिङमा भारतका लागि शिवम दुबेले २ विकेट लिँदा हार्दिक पाण्ड्या र कुलदीप यादवले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाउँदा शुभमन गिलले ४७ तथा तिलक वर्माले अविजित ३० रन बनाए। बलिङतर्फ पाकिस्तानका हरिष रउफले २ विकेट लिँदा अब्रर अहमद र फहीम अश्रफले समान १ विकेट लिए।

राजनीतिक हिसाबले पटकपटक युद्धको अवस्थामा पुगेका भारत र पाकिस्तानबीच कहिल्यै सुमधुर सम्बन्ध छैन। यहीवर्ष पनि युद्धको स्थितिमा पुगेपछि भारतमा पाकिस्तानविरुद्ध नखेल्नका लागि चर्को दवाब थियो। पाकिस्तानविरुद्ध समूह चरणमा पहिलो खेलमा जितपछि हात नमिलाएको भारतले सुपर ओभरको खेलमा पनि त्यसैलाई निरन्तरता दियो। हात नमिलाएर खेल भावना विपरितको काम गरेको भन्दै पाकिस्तानले आवाज उठाएको थियो। अर्कोतर्फ ‘बोइकट’ को ट्रेन्ड चलिरहँदा यी दुई टोलीबीचको दोस्रो खेलमा पनि स्टेडियम भरिएको थिएन।

खेलका दौरान पनि पटकपटक माहोल बिग्रिएको थियो। पाकिस्तानी बलर हरिष रउफ र भारतीय ब्याटर अभिषेक शर्माबीच भनाभन हुँदा अम्पायर बीचमा आउनु परेको थियो। पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरेका शर्मा र शुभमन गिलको अन्य पाकिस्तानी बलरसँग पनि भनाभन चलिरहेको थियो। त्यसअघि अर्धशतक प्रहार गरेका पाकिस्तानी ब्याट्सम्यान शहिबजाद फरहानले ‘गन फायर’ को संकेत दिँदै सेलिब्रेसन गरेका थिए।