वीरगंज घण्टाघरको सकियो मर्मत, निर्माण कम्पनीले हटायो जाली, अब एक दशक दह्रो



बिजमाण्डू
२०८२ असोज ४ गते ०९:०२ | Sep 20, 2025
वीरगंज घण्टाघरको सकियो मर्मत, निर्माण कम्पनीले हटायो जाली, अब एक दशक दह्रो

वीरगंज। वीरगंजमा घण्टाघरको मर्मत पुरा भएको छ। नगरको प्रतिष्ठाको प्रतीक मानिने घण्टाघरको केही भाग भत्किएको थियो।सात महिना लगाएर मर्मतसम्भार गरिएको हो।

Tata
GBIME
Nepal Life

गत फागुन ७ मा घण्टाघरको ‘बाल्कोनी’ कमजोर भएर इँटा झरेको थियो। वीरगंज महानगरपालिकाले मर्मतसम्भार र रङरोगन गरेर फेरि पहिलाकै अवस्थामा ल्याएको छ। महानगरपालिकाको भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले वीरगंजले घण्टाघर मर्मतसम्भार गरेर घुम्टो पनि हटाइएको जानकारी दिए।

‘घण्टाघरको संरचना मेसिन प्रयोग गरेर मर्मतसम्भार गर्न गर्न सकिने अवस्था थिएन। ऐतिहासिक धरोहर भएकाले पनि म्यानुअल ढंगले मर्मतसम्भार गर्दा केही समय बढी लागेको हो,’ उनले भने, ‘अहिले घण्टाघरको लगभग सबै संरचना निर्माणको काम सकिएको छ।’

घण्टाघर वरपर सवारीसाधनको चाप अत्यधिक हुने गरेको छ। सवारीसाधन र यात्रुको सुरक्षालाई ध्यान दिँदै कन्ट्रक्सन नेटअर्थात् झालीले ढाकेर मर्मतसम्भार गरिएको महाशाखा प्रमुख झाले बताए। ‘अहिले घण्टाघरको वरपर लगाइएको स्काफोल्डिङ र कन्स्ट्रक्सन जाली समेत हटाइसकेका छौं,’ उनले भने, ‘मर्मतपछि घण्टाघर कम्तीमा पनि १० वर्षसम्मका लागि टिकाउ हुने विश्वास गरेका छौं। यद्यपि घण्टाघरभित्रका संरचना पुरानो हुँदै गएका छन्।’

महाशाखा प्रमुख झाले घण्टाघर निर्माण करिब २० लाखभन्दा कममा हुने आकलन गरेको बताए। ‘अहिलेसम्म त बिल तयार भइसकेको छैन,’ उनले भने, ‘अनुमानित लागतभन्दा कममा नै होला भन्ने विश्वास लिएका छौं।’ घण्टाघर निर्माणको ठेक्का महाशक्ति कन्स्ट्रक्सनले पाएको थियो।

घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति गरेको थियो। ‘घण्टाघरको मर्मतसम्भार माथिल्लो बाल्कोनीमा पुगेर गर्नुपर्ने भएकाले पनि केही समय बढी लागेको हो,’ उनले भने। घण्टाघर सन् १९७९ फेब्रुअरी ८ तारिखमा तयार भएको मानिन्छ। त्यो बेला जापानको योनागो सहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर वीरगंज घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको थियो। रासस