शीतल निवासको चियापानमा नेताको बाक्लो जमघट, राष्ट्रपति कार्यालयलाई व्यवस्थापन गर्न हम्मे



बिजमाण्डू
२०८२ असोज ३ गते १८:३४ | Sep 19, 2025
शीतल निवासको चियापानमा नेताको बाक्लो जमघट, राष्ट्रपति कार्यालयलाई व्यवस्थापन गर्न हम्मे

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

संविधान दिवसका अवसरमा शुक्रबार शीतल निवासमा चियापान कार्यक्रम राखेर राष्ट्रपति पौडेलले प्रतिनिधि सभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएपछि आम सहमतिमा नै मुलुकलाई संकटबाट निकास दिएको भन्दै निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न आग्रह गरेका हुन्।

रामचन्द्र पौडेल

‘देशमा उत्पन्न भएको विषम परिस्थितिलाई दृष्टिगत गरी छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने गरी अहिलेलाई राजनीतिक निकास दिइएको छ,’ उनले भने, ‘अहिलेको घडीमा सबै राजनीतिक दल, मुलुकको प्रशासन तथा व्यवस्थापनमा आबद्ध निकाय र नागरिकहरूलाई असहमति छोडेर पूर्वाग्रहरहित भई निर्वाचनको सफलताका लागि क्रियाशील हुन आह्वान गर्दछु।’

समारोहमा राजनीतिकर्मीहरुको बाक्लो उपस्थिति थियो। उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा बाबुराम भट्टराई उपस्थित थिए।

एमाले अध्यक्ष केपी ओली भने गएनन्। ओलीलाई सत्ताच्युत गर्न विद्रोह गरेका जेनजीका प्रतिनिधि पनि उपस्थित थिए। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई लगायत नेता शीतल निवास पुगेका थिए।

कांग्रेसका शेखर कोइराला, शशांक कोइराला, माओवादीका वर्षमान पुन, देव गुरुङ, रेखा शर्मा, रास्वपाका डीपी अर्याल, शिशिर खनाल, गणेश पराजुली, सोबिता गौतम, नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री लगायत नेताको उपस्थितिका कारण शीतल निवास परिसर भरिएको थियो।

राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिका कारण राष्ट्रपति कार्यालयलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो।