नेपाली क्रिकेट टोली यूएई जानबाट रोकियो, पारसले दाबी गरे पनि अझै आएको छैन भिसा



मुकुन्द घिमिरे
२०८२ असोज ३ गते १७:२६ | Sep 19, 2025
नेपाली क्रिकेट टोली यूएई जानबाट रोकियो, पारसले दाबी गरे पनि अझै आएको छैन भिसा
बिदाइका क्रममा नेपाली खेलाडी। तस्बिर : सुशील श्रेष्ठ/बिजमाण्डू

काठमाडौं। वेस्ट इण्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्न यूएई जानुपर्ने नेपाली टोली भिसा नआएका कारण अड्किएको छ।

Tata
GBIME
Nepal Life

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै बिदाई गरेको टोली शुक्रबार यूएई जाने तालिका रहेकामा भिसा नआएका कारण अड्किएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली टोली शुक्रबार यूएई जाने पूर्वनिर्धारित तालिका रहे पनि भिसा नआएका कारण सम्भव नभएको बताए। ‘अहिलेसम्म भिसा आएको छैन। आज रातिसम्म भिसा आए भोलि र भोलि भिसा आए पर्सी नेपाली टोली यूएई जाने छ,’ क्यानका प्रवक्ता छुम्बी लामाले भने।

छुम्बीका अनुसार भिसाका लागि क्यानले यूइईको क्रिकेट बोर्डसँग समन्वय गरिरहेको छ।

क्यानका सचिव पारस खड्काले बिहीबार नेपाली टोलीलाई बिदाइपछि खेलाडीको भिसा आइसकेको दाबी गरेका थिए।

सम्बन्धित समाचार: यूएईमा क्रिकेट खेल्न नेपाली खेलाडीले पाए भिसा, नेपालबाट जान खोज्ने समर्थकलाई भने रोक

‘हामी संक्रमणकै अवस्थाबाट गुज्रिरहेका छौं। खेलाडी र अफिसियलहरुको भिसा आइसकेको छ,’ क्यानका सचिव पारसले बिजमाण्डूसँग भनेका थिए, ‘अहिलेका लागि आशा गरौं, अस्थिरताबाट स्थिरतामा प्रवेश गर्न सकौं। नेपालभित्र पनि धेरै नेपाली हुनुहुन्छ जसले यूएई गएर खेल हेर्न इच्छा चाहना देखाउनु भएको छ।’

नेपालले यूएईमा विश्वकप विजेता वेस्ट इण्डिजसँग तीन खेल खेल्ने तालिका छ। नेपाली टोली यूएई जान पाएको अवस्थामा असोज ११, १३ र १४ गते खेल हुनेछन्।

यूएई नेपालीका लागि सजिलै भिसा लगाएर जान पाउने सहज गन्तव्यमध्येको देश हो। तर उसले भदौ ३० गतेदेखि नेपालीहरुलाई भिसा बन्द गरेको छ।

सम्बन्धित समाचार : यूएईले नेपालीलाई एकाएक भिसा रोकेको विषयमा सरकारलाई छैन औपचारिक जानकारी

भिसा रोकेकोबारे यूएईले आधिकारिक रुपमा नेपाल सरकारलाई केही भनेको छैन। खेलाडीको भिसा नआएको विषयमा शुक्रबार कुरा गर्न खोज्दा पारससँग सम्पर्क हुन सकेन।