कांग्रेसले देशभर मनायो संविधान दिवस, फेरि उठ्ने संकल्पसहित संशोधनको पक्षमा बहस



बिजमाण्डू
२०८२ असोज ३ गते १७:०८ | Sep 19, 2025
कांग्रेसले देशभर मनायो संविधान दिवस, फेरि उठ्ने संकल्पसहित संशोधनको पक्षमा बहस

काठमाडौं। नेपाली कांग्रेसले संविधान दिवस देशव्यापीरुपमा मनाएको छ। पार्टी मुख्यालयमा संविधान दिवस सम्बन्धी कुनै कार्यक्रम नराखे पनि कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिलाई सर्कुलर गरेर कार्यक्रम गर्न लगाएको हो।

Tata
GBIME
Nepal Life

कांग्रेसले जिल्ला जिल्लामा र्‍याली, सभा लगायत कार्यक्रम गरेको छ। जिल्लास्तरीय सभामा संविधान संशोधनको बहस समेत भएको छ। कांग्रसका भ्रातृ संगठनका आवद्ध कार्यकर्ताले हात हातमा संविधान लिएर काठमाडौंमा संविधान दिवस मनाएका छन्।

जेनजीको विद्रोहका क्रममा आगजनीमा परेको केन्द्रीय कार्यालयमा कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक गरिरहँदा जिल्लास्तरीय नेताहरु भने संविधानमा देखिएका कमजोरी सुधार गर्नुपर्ने पक्षमा उभिएका हुन्। ती बहसमा कतिपय केन्द्रीय नेता पनि सहभागी भएका छन्।

मकवानपुरमा पार्टी कार्यालयमा झन्डा फहराएर संविधान दिवस मनाएको जिल्ला सभापति बुद्ध लामाले बताए। ‘यहाँ प्रदर्शनकारीले पार्टीको झन्डा जलाएका थिए। आज झन्डा स्थापना गर्‍यौं,’ सभापति लामाले भने।

                                                                                                       कांग्रेस नेताहरु हेटौंडा अस्पतालमा  

कांग्रेसले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा संविधान दिवस मनाएको हो। बानियाँ कांग्रेसको बागमती प्रदेशका सभापतिसमेत हुन्। उनले हेटौंडा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरे।

गोरखामा जिल्ला समन्वय समितिको आयोजनामा संविधान दिवसको कार्यक्रम गरेको कांग्रेसका जिल्ला सभापति नन्द न्यौपानेले बताए। उनका अनुसार साँझ गोरखा बजारमा दिप प्रज्वलन गर्ने कार्यक्रम छ।

‘दिउँसो जिल्ला समन्वय समितिमा संविधानमा देखिएका कमजोरीलाई लिएर संशोधन गर्नुपर्ने विषयमा भयो,’ सभापति न्यौपानेले भने।

मोरङमा संविधानको विषयमा विचार गोष्ठी गरिएको कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले बताए।

‘हामीले पार्टी कार्यालयमा विचार गोष्ठी गरेका छौं। गोष्ठीका अधिकांश वक्ताले निर्वाचन प्रणाली लगायत कतिपय विषयमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन्,’ लिम्बुले भने।

दार्चुला सदरमुकाम खलंगामा कांग्रेसले निकालेको र्‍याली
कांग्रेसले नुवाकोटमा गरेको कार्यक्रममा सहभागी

संविधान दिवस मनाउन केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा नुवाकोटको विदुर पुगे। उनीहरुले संविधान जोगाउन राष्ट्रपति रामचन्द्र पौडेलले अथक प्रयास गरेको बताए।

२०७२ असोज ३ गते संविधान जारी भएयता सरकारमै वा सत्ताको वरपर बसेर संविधान दिवस मनाउँदै आएको कांग्रेस जेनजी विद्रोहका कारण सडकमा आइपुगेको छ। जेनजीको प्रदर्शनका क्रममा निवासमै कुटिएका कांग्रेस सभापति शेरबहादुर देउवा उपचाररत छन्। कांग्रेस उपसभापति खड्काका अनुसार देउवाको गर्दनमा १२ टाँका लगाउनुपरेको छ।

कांग्रेसले बनेपामा गरेको कार्यक्रम

देउवाले संविधान दिवसका अवसरमा सन्देश दिंदै जेनजी विद्रोहको निकास संविधानबाट निस्किने बताएका छन्।

‘मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै छ। संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ,’ देउवाले भनेका छन्, ‘यदि यसो हुन सकेन भने राजनीतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ।’