काठमाडौं। साउन २४ गते नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भयो। त्यो दिन ललित अक्सनमै थिए। त्यसको भोलिपल्ट भने उनको अघि आकाश खस्यो। त्यसदिन बेलुका उनको आमाको निधन भयो।
त्यसबेला नेपाली टोली अस्ट्रेलिया टप एण्ड क्रिकेट र अभ्यास खेलहरुका लागि जाँदै थियो। २५ गते नेपाली टोलीको विदाइ कार्यक्रम राखेको थियो। उनलाई त्यसदिन मातृशोक परेको थियो। उनको स्थानमा सहाब आलमले लिए।
राजवंशी अहिले टोलीमा फर्किएका छन्। नेपाली क्रिकेट टोलीले अब यूएईमा वेस्ट इण्डिजविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्दैछ। लगत्तै ओमनमा टी-२० विश्वकपको छनोट पनि खेल्दैछ। घरेलु क्रिकेटमा सबैभन्दा प्रभावशाली प्रदर्शन गरिरहेका उनी विश्वकपमा टोलीलाई पुर्याउने आत्मविश्वास लिएको बताउँछन्।

‘दुई पटक विश्वकप जितिसकेको टोलीसँग सिरिज खेल्न पाउँदा उत्साहीत छौँ। नतिजा आफ्नो ठाउँमा छ, महत्वपूर्ण प्रतियोगिता अघि राम्रो सिरिज खेल्दैछौ,’ राजवंशीले भने।
यसअघि वेस्ट इण्डिजसँग एकदिवसीय फर्म्याटमा नेपालले खेल्दा उनी पनि टिममा थिए। त्यसबेला नेपालका लागि सर्वाधिक विकेट ललितले नै लिएका थिए। ३ विकेट लिएका उनले नेपालविरुद्ध १३२ रन बनाएका त्यसबेलाका कप्तान साइ होपसहित रोभमन पवेल र किमो पउललाई पभेलियन फर्काएका थिए।
आमा हुनुहुन्न, नेपाल आमाका लागि खेल्नेछु
उनले आफ्नो पारिवारिक समय राम्रो नभएको भए पनि देशका लागि खेल्ने बताए।
‘आमा हुनुहुन्न। नेपाल आमा हुनुहुन्छ। राष्ट्रलाई हामी सम्मान गर्छौँ। नेपाल आमा भन्छौँ,’ ललितले भावुक हुँदै भने, ‘देश प्रति पनि दायित्व छ। कसरी हुन्छ, नेपाल आमालाई राम्रो गर्छु भनेर लागि परेको छु।’
उनले आमाले अफ्ठेरो परिस्थितिमा पनि क्रिकेट खेल्नका लागि प्रोत्साहित गरेको भन्दै सम्झिए।
‘अस्ट्रेलियाको अभ्यास खेलभन्दा आमाको काम महत्वपूर्ण लाग्यो र म अस्ट्रेलिया गइन। मैले हरेक खेलहरु फलोचाहिँ गरिरहेको थिएँ।’ उनले भने।

जब अस्वीकार गरे सरकारको घर बनाइदिने प्रस्ताव
ललित आमाको काममा बसेको बेला उनको घरको अवस्थालाई लिएर टिप्पणी चलेको थियो। त्यसबेला कोशी प्रदेश सरकारले विपन्न आवास कोटाबाट उनलाई घर बनाइदिने प्रस्ताव गरेको थियो। त्यसबेला ललितले विपन्न कोटाबाट आफूले घर लिनु अन्याय हुने भन्दै त्यसलाई अस्वीकार गरेका थिए।
‘त्यो प्रस्ताव आयो। त्यसै बमोजिम छनोट गरेर निर्णय लिएँ। सबैसँग कुरा गरेर निष्कर्ष निकालेको थिएँ,’ राजवंशीले भने, ‘मैले सोचेरै त्यो निर्णय लिएको थिएँ। त्यो घर जसलाई महत्वपूर्ण छ, उसैलाई बनाइदिनु पर्छ भन्ने बोध भयो।’

राजवंशीलाई सरकारको प्रस्ताव स्वीकार गर्न सुझाव आए पनि त्यो कसलाई आवश्यक हो, उसैले पाउनु पर्छ भनेर अस्वीकार गरेका थिए।
‘गाउँतिर धेरै जनाले लिँदा हुन्छ पनि भन्नु भयो। तर, केहो? कसको लागि यो महत्वपूर्ण हो? अहिलेको अवस्थामा म भन्दा पनि अरु कोही हुन सक्नुहुन्छ जसलाई त्यो घर अझ धेरै महत्वपूर्ण हुन्छ,’ उनले भने।











