काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग संचालनका लागि आवश्यक पर्ने सेवा प्रदायक खरिदको कार्यतालिका बनाइएको छ। जसअनुसार असोज १५ देखि कात्तिक मसान्तसम्म टेन्डर खुलाइने भएको छ।
अहिले सुरुङमार्गको काम लगभग सम्पन्न भइसकेको छ। त्यसैले आगामी दसैंमा ट्रयाल स्वरुप केही दिनका लागि संचालन गर्ने तय भएको छ। यसका लागि मन्त्रालयले जापानिज दातृ निकाय जाइकासँग छलफल गरिरहेको छ।
आयोजनाले सुरुङमार्ग संचालनका लागि ‘स्पेसिफिकेसन/ म्यानुअल’ तयार बनाउने काम सम्पन्न गरिसकेको छ। यस्तै, सेवा प्रदायक खरिदको मापदण्ड स्वीकृति भइसकेको छ। यसको संचालनको लागत अनुमान बोलपत्रसम्बन्धी कागजात तयारी असोजमा हुने आयोजनाले जनाएको छ।
असोजमा टेन्डर आह्वान गरेपछि मंसिरमा आवेदन परेका बोलपत्र दाताहरूको मूल्यांकन गरिनेछ। त्यसपछि पुस मध्यसम्ममा आशयपत्रको सूचना निकाल्ने र सेवा प्रदायक छनोट भएर सम्झौता गर्ने तयारी रहेको आयोजनाले जनाएको छ।
माघमा निर्माण व्यवसायीले सेवा प्रदायकलाई तालिम दिने र ‘सफ्ट ओपनिङ’ पनि हुने तय भएको छ। आयोजनाका अनुसार सम्पूर्ण संरचना हस्तान्तरण र टनेल संचालन गर्न पर्याप्त तालिम संचालनका लागि करिब २ महिनाको समय लाग्ने छ।
सेवा प्रदायक छान्न निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत गराउन पर्छ। नमुना बोलपत्र कागजात तयार गरी स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यलयमा छलफलको चरणमा छ।
टोल कलेक्सन सिस्टम अन्तर्गत रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन जडान प्रक्रियामा रहेको छ। साथै, टोल दस्तुर निर्धारण भएर मन्त्रिपरिषद्बाट पनि स्वीकृति भइसकेको छ। यसमा सवारीसाधन हेरेर ६५ देखि ६०० रुपैयाँसम्म तोकिएको छ। यही तोकिएको शुल्क अनुसार सुरुङमार्गमा संचालन हुने सवारीसाधनहरूबाट ठेक्का पाउने सेवा प्रदायक कम्पनीले टोल शुल्क संकलन गर्नुपर्ने हुन्छ।

सेवा प्रदायकका लागि १५० जनाको दरबन्दी हुने प्रस्ताव गरिएको छ। यसमा टनेल हेड, डेप्युटी हेड, ट्राफिक फ्यासिलिटी मोनिटरिङ एण्ड कन्ट्रोल युनिटमा १४, फ्यासिलिटिज मेनटेनेन्स युनिटमा ८, सिभिल वर्क्स युनिटमा ८, सेफ्टी म्यानेजमेन्ट युनिटमा ६४ र टोल कलेक्सन युनिटमा ५४ जना गरी १५० जना दरबन्दी हुनेछ।
सेवा प्रदायक किन आवश्यक छ?
आयोजनाले सेवा प्रदायकबाट नै सुरुङमार्ग संचालन गर्नुपर्ने कारणहरू पनि औल्याएको छ। सुरुङमार्गमा अत्याधुनिक सिस्टमहरू समावेश रहेको हुनाले उक्त प्रणालीहरूको संचालन तथा मर्मतका लागि विशेष तालिम प्राप्त दक्ष जनशक्तिको आवश्यकता रहन्छ। यसका लागि प्राविधिक विशेषज्ञताको आवश्यकता पर्छ।
२४सै घण्टा सेवा प्रदान गर्नुपर्ने र आपतकालीन अवस्थामा द्रुत प्रतिक्रिया जनाउनुपर्ने भएकाले पनि सेवा प्रदायक आवश्यक भएको आयोजनाले जनाएको छ। सुरुङमार्ग सधैं २४/७ संचालन गर्नुपर्ने हुनाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै कारवाही आवश्यक हुन्छ। सेवा प्रदायकले सिफ्ट प्रणालीमा कर्मचारी खटाउने, आपतकालीन टोली स्थापना गर्ने हुनाले समयमै सेवा दिने व्यवस्था गर्न सक्छ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार विश्वका धेरै मुलुकमा सुरुङमार्ग संचालन तथा मर्मतका लागि विशेषज्ञ कम्पनीहरूलाई जिम्मा दिने गरिन्छ।
अर्को भनेको प्रविधि हस्तान्तरणका लागि पनि आवश्यक छ। यसले अनुभवी तथा सक्षम अन्तर्राष्ट्रिय सेवा प्रदायकबाट उक्त सुरुङमार्ग ५ वर्षको लागि संचालन गर्दा यस अवधिमा पर्याप्त मात्रामा विदेशी विज्ञहरूबाट नेपाली प्राविधिक/व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङमार्गहरू तथा फास्ट-ट्रयाक जस्ता संरचनाहरू स्वदेशी जनशक्ति बाटै संचालन गर्न सहज हुने आयोजनाको अपेक्षा छ।

आयोजना बन्नेछ टनेल म्यानेजमेन्ट अफिस
टनेल म्यानेजमेन्ट अफिस (टीएमओ) को संगठन संरचना स्वीकृतिको लागि पेस गरिएको छ। अहिले भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयलाई सुरुङमार्ग व्यवस्थापन कार्यालयका रुपमा परिमार्जन गर्ने योजना छ।
यसले नेपालमा निर्माणाधीन रहेका र निर्माण सम्पन्न भएर संचालन हुने सुरुङमार्गको संचालन तथा मर्मतसंभारको काम गर्नेछ। यही कार्यालयबाट सुरुङमार्गको सबै कामहरू व्यवस्थापन हुनेछ।
फ्लाइओभरको र्याम्पमा सडक क्रसिङका लागि स्थानीयबाट पटक-पटक माग भइरहेको छ। यसका लागि आयोजनाले हाल अल्पकालीन पैदलयात्री क्रसिङ मात्र गर्न उपलब्ध गराइने र यसको विकल्पमा पैदलयात्री आकासे पुल निर्माण गर्नुपर्ने देखिएको छ।
साथै, पश्चिम पोर्टलमा पहिरो नियन्त्रणका लागि रोकथाम कार्य संचालन गरिएकोमा उक्त कार्य सम्पन्न नुहँदै थप समस्या देखिएको आयोजनाले जनाएको छ। पहिरो नियन्त्रणको कार्य अन्तिम अवस्थामा रहेकोमा पहिरोमा थप चिरा देखिने, ओभर मास मुभमेन्टको समस्या देखिएको थप जियोफिजिकल अध्ययन गरिएको र बर्सातपश्चात थप अध्ययन गर्ने र समस्याको निमास निकाल्ने प्रयास गर्ने आयोजनाको तयारी छ।











