काठमाडौं। ऊर्जामन्त्री कुलमान घिसिङले बजारको अभाव देखाएर विद्युत उत्पादन रोक्न नहुने बताएका छन्।
उनले बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को टोलीसँग देशका लागि अझै धेरै बिजुली आवश्यक रहेकाले उत्पादन रोक्न नहुने बताए।
‘देशका लागि अझै धेरै बिजुली चाहिएको छ। २०/३० हजार मेगावाट बिजुली चाहिन्छ। निजी क्षेत्रले लगानी गर्यो भने सरकारले लगानी नै गर्नु पर्दैन,’ उनले भने, ‘बिजुलीको बजार छैन भन्ने होइन, बजार सिर्जना गर्ने हो। अहिले उत्पादन रोक्नतिर लाग्यौं भने १० वर्षपछि ठूलो समस्या झेल्नुपर्छ।’

कुलमानले उत्पादनका लागि लगानी बढाउन निजी क्षेत्रलाई सरकारले प्रोत्साहित गर्ने बताए। ‘नियमावली, निर्देशिका, ऐन के के परिवर्तन गर्नुपर्छ हामी गर्छौं। कानुनका कारण समस्या हुन दिने छैनौं,’ उनले भने।
त्यसअघि इप्पानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले बिजुलीको बजार नभएको भन्दै लामो समयदेखि विद्युत खरिद सम्झौता (पीपीए) रोकेको र त्यसले निजी क्षेत्रका लगानीकर्ताको मनोबल कमजोर हुन पुगेको बताएका थिए।

कुलमानले पीपीए, आरसीओडी म्याद थप, कन्टिजेन्सी लगायतका विषयमा आफू जानकार रहेको भन्दै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
इप्पानले कुलमानसामु वन मन्त्रालयसँग सम्बन्धित इआईए/आइईईमा सहजीकरण गर्नुपर्ने, विद्युत खपत वृद्धिको योजना ल्याउनुपर्ने, प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने, आइपीओ निष्कासन सम्बन्धमा जलविद्युत कम्पनीको फाइल नेपाल धितोपत्र बोर्डलाई अगाडि बढाउन लगाउनुपर्ने, विद्युत व्यापारमा निजी क्षेत्रलाई बाटो खुलाउनुपर्ने लगायत माग राखेको छ।











