काठमाडौं। जेनजीको आन्दोलनको क्रममा भएको क्षतिले निर्जीवन बीमा कम्पनी मात्रै नभएर पुनर्बीमा व्यवसायमै धक्का पुग्ने देखिएको छ।
भदौ २४ गतेको आन्दोलनमा भएको निजी सम्पत्तिको क्षतिमा बीमा कम्पनीहरुमा दाबी आउन थालेको छ। भदौ ३१ गतेसम्म २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको दाबी परेको छ।
डेढ दर्जन बीमा कम्पनीमा परेको कुल दाबीमध्ये ११ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ दायित्व सरकारको लगानी रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीले बेहोर्नु पर्ने भएको छ।
नेपाल रिमा १४ वटा कम्पनीले दाबीका लागि क्षतिको विवरण पेस गरेका छन्।
भाटभटेनी सुपरमार्केट, कान्तिपुर मिडिया हाउस, युलेन्स स्कुल, सीजी इम्पेक्स, युनाइटेड डिष्टिब्युटर्स, राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको १८ किलो सुन, पोखराको बगैंचा होटेल र होटल सरोबरको पुनर्बीमाका कारण नेपाल रिको दायित्व धेरै देखिएको हो।
नेपाल बीमा प्राधिकरणका अनुसार मंगलबारसम्म ओरियन्टल इन्स्योरेन्समा सबैभन्दा धेरै ५ अर्ब १४ करोड रुपैयाँ दाबी परेको छ। ओरियन्टल इन्स्योरेन्सबाट नेपाल रिमा १ अर्बको दाबी परेको छ।
सिद्धार्थ इन्स्योरेन्समा ४ अर्ब ९३ करोड रुपैयाँ दाबी आउँदा यसको ३ अर्ब १९ करोड रुपैयाँको दायित्व नेपाल रिले बेर्होर्नुपर्ने भएको छ।











