विराटनगर। सूर्य नेपाल प्रालिले विद्युत् प्राधिकरणसित आफ्नो कुनै पुरानो बक्यौता नरहेको स्पष्ट पारेको छ।
सूर्य नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै प्राधिकरणमा उद्योगको कुनै बक्यौता नरहेको जिकिर गरेको हो।
विज्ञप्तिमा लोडसेडिङका अवधिमा ट्रंक लाइनबाट जडान गरिएको विद्युतका लागि तिर्नुपर्ने भनिएको महसुल केही बाँकी बक्यौता नरहेको जानकारी गराइएको छ।
‘सूर्य नेपालले नेपाल प्राधिकरणको निर्देशन अनुसार सम्पूर्ण बक्यौता पहिले नै तिरिसकेको छ। मन्त्रिपरिषदको २०८१ वैशाख २७ को निर्णय अनुसार २०७२ पुसदेखि २०७५ वैशाखसम्मको अवधिका लागि मात्र अतिरिक्त महसुल लागु हुने निर्णय मुताबिक सूर्य नेपालले तिर्नुपर्ने भन्दा बढी नै रकम भुक्तानी गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ।
उद्योगका महाप्रबन्धक प्रेम अर्यालले सूर्य नेपाल सबै प्रचलित कानुन, नियम तथा सरकार र सम्बद्ध निकायका निर्देशनको पालना गर्न प्रतिबद्ध रहेको बताए।
महाप्रबन्धक अर्यालले कम्पनीको प्रतिष्ठामा नै आँच पुग्ने गरी सूर्य नेपालले लोडसेडिङको अवधिको ट्रंक लाइनको महसुल नबुझाएको भन्दै भ्रामक प्रचार गरिएकोमा आफू दुःखी भएको उल्लेख गरे।
अर्यालको भनाइ छ, ‘हामी प्राधिकरणका ठूला ग्राहकमध्येका हौं। त्यसैले प्राधिकरणले पनि सूर्य नेपालले प्राधिकरणकै निर्देशन बमोजिम सबै बक्यौता चुक्ता गरिसकेको तथ्य सार्वजनिक गरिदिनु पर्छ।’










