अराजकता मच्चाउने खोज्दै प्रहरी, सञ्जालबाट डिलिट हुन थाल्यो आन्दोलनका फोटो र भिडियो



बिजमाण्डू
२०८२ भदौ ३० गते १७:३० | Sep 15, 2025
अराजकता मच्चाउने खोज्दै प्रहरी, सञ्जालबाट डिलिट हुन थाल्यो आन्दोलनका फोटो र भिडियो

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजानीका भिडियो तथा फोटोहरू समाजिक सञ्जालका चर्चित अनुहारहरूले धमाधम डिलिट गर्न थालेका छन्।

Tata
GBIME
Nepal Life

शनिबार नेपाल प्रहरीले जेनजी आन्दोलनको क्रममा आगजानी र लुटपाटका तस्बिर र भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू पठाउन अनुरोध गरेसँगै अहिले सामाजिक सञ्जालमा पोष्ट गरिएको ती सामग्रीहरू धमाधम डिलिट गर्न थालिएको हो। आन्दोलनमा आगजानी र तोडफोड मात्रै नभएर लुटपाटसमेत भएको थियो।

टिकटकमा चर्चामा रहेका मनोज केसीले सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरेको भिडियो हटाएका छन्। उनले आफूले नेताहरूले गरेको भष्ट्राचार र जेनजीलाई हानिएको गोलीको विरोध गर्न मात्र आएको भन्दै कसैलाई अगो लगाउन, लुटपाट गर्न आग्रह नगरेको स्पष्टीकरण भिडियो पोष्ट गरेका छन्। उनले लागेको आरोपबारे प्रमाण भए आफैँ पुलिसलाई ‘सरेन्डर’ गर्ने बताएका छन्।

युट्युबर भाग्य न्यौपानेले सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको नख्खु कारागारमा जानु पर्ने भन्दै भिडियो पोस्ट गरेका थिए। उक्त भिडियो अहिले टिकटकमा भाइरल छ ।

त्यहाँ उनले भनेका थिए, ‘कामै नलाग्ने गृहमन्त्रीले राजीनामा दिएपछि अब यो देशका लागि चाहिने गृह मन्त्रीलाई जेलबाट झिकेर यो देशको सत्ता उहाँको हातमा लगाउनुपर्‍यो। बालेन दाइ जो-जो हुनुहुन्छ । युवाहरू सडकमा अझै छन् । रवि दाइ जेलभित्र होइन, अब खाली भएको गृहमन्त्रीको ठाउँमा बस्नुपर्छ ।’

त्यसका साथै उनले झापाको मेयरको घरमा ८० किलो सुन भेटियो भनेर समेत आन्दोनलको समयमा भिडियो पोस्ट गरेका थिए। तर, अहिले उनले उक्त भिडियोहरू सामाजिक सञ्जालबाट हटाएका छन्।

यतिबेला समाजिक सञ्जालमा पोष्ट गरिएको यस्ता दर्जनौं भिडियोहरू डिलिट भएका छन्। पोस्ट गर्नेहरुले भिडियो डिलिट गरे पनि प्रयोगकर्ताले सेभ गरेर राखेका उनीहरुको भिडियो फेरि सेयर गरेर उनीहरुलाई जवाफदेही बनाउने प्रयास गरेका छन्।

यस्तै, भाटभटेनी, प्रहरी कार्यालय र नेताका घरबाट लुटपाट गरिएको सामाग्रीहरू पनि यति बेला फिर्ता गर्नेको लर्को नै लागेको छ। उनीहरूले २३ र २४ गते भएको आन्दोलनमा लुटपाट गरिएका सामग्रीहरू सोही स्थानमा फिर्ता गर्न थालेका हुन्।