काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यु हटेको छ। नयाँ सूचना जारी नभएपछि सर्वसाधारण घरबाट बाहिर निस्केका छन्। जनजीवन सामान्यतर्फ फर्किएको छ। नेपाली सेनाको सुरक्षा समन्वयमा कर्फ्यु हटेको हो।
सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार सुरक्षा अवस्था सुदृढ रहेको पाइएपछि निषेधाज्ञा र कर्फ्युलाई नलम्ब्याइएको हो। गत मंगलबारको ध्वंसात्मक प्रदर्शनसँगै उपत्यकामा निषेधाज्ञा र कर्फ्यु लगाइएको थियो। जिल्लाहरुको सुरक्षा अवस्था मूल्यांकन गरेर सबैतिर कर्फ्यु हटाउने तयारी छ।
यसअघि जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यु आदेश फिर्ता लिने तयारी भइरहेको छ। उपत्यकामा बजार, पसल बिस्तारै खुल्दैछन्। सडकमा सवारी चल्न थालेका छन्।










