पेट्रोल सहज न त ग्यास, आयल निगम भन्छ ‘अभाव हुँदैन, बजारमा पठाइरहेका छौं’



बिजमाण्डू
२०८२ भदौ २७ गते १०:०७ | Sep 12, 2025
पेट्रोल सहज न त ग्यास, आयल निगम भन्छ ‘अभाव हुँदैन, बजारमा पठाइरहेका छौं’

काठमाडौं। गत मंगलबारको देशव्यापी ध्वंसात्मक घटनायता बन्द पेट्रोल पम्पहरु पूर्ववत् खुल्न थालेका छैनन्। उपत्यकामा खुलेका किराना पसल र ग्यासका डिपोले ग्यास अभाव रहेको बताउँदै ग्राहकलाई रित्तै फर्काइरहेका छन्। नेपाल आयल निगमले भने बजारमा एलपी ग्यास लगायतको पेट्रोलियम पदार्थको अभाव नरहेको प्रष्टीकरण दिएको छ।

Tata
GBIME
Nepal Life

पछिल्लो घटनाक्रमले गर्दा पेट्रोलियम पदार्थको अभाव सिर्जना भएको महसुस भए पनि अहिले अवस्था सामान्य रहेको निगमले जनाएको हो। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले हाल पेट्रोलियम पदार्थ वितरणमा कुनै समस्या नरहेको बताए। उनका अनुसार सेनाको सहयोगमा डिपोहरुबाट पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थहरु पठाइएको छ।

यस्तै एलपी ग्यासमा पनि केही समस्या नरहेको उनी बताउँछन्। उनका अनुसार हिजोअस्ति आन्दोलन लम्बिने अवस्था देखेर मानिसहरुले रिटेलबाट धेरै सिलिन्डर स्टकमा उठाएका थिए। त्यस कारण ग्यास सर्टेज भएको जस्तो अवस्था बनेको थियो। तर अहिले ग्यास उद्योगबाट रिटेलमा सिलिन्डरहरु प्रशस्त मात्रामा बजारमा पठाइएको छ।

बिहीबार मात्रै ४० ग्यासका बुलेट नेपाल भित्रिएको ठाकुरको भनाइ छ। ‘नियमित रुपमा ग्यास तथा पेट्रोलियम पदार्थ नेपाल भित्रिने भएकाले बजारमा अभाव हुने अवस्था छैन,’ उनले भने।