जेनजी पुस्ताको प्रदर्शनमा ओली सरकारको बर्बरता, ‘कुशासनका अगुवाहरु सत्ता छाड’



वासुदेव तिमल्सिना
२०८२ भदौ २३ गते १६:११ | Sep 8, 2025
जेनजी पुस्ताको प्रदर्शनमा ओली सरकारको बर्बरता, ‘कुशासनका अगुवाहरु सत्ता छाड’

काठमाडौं। गत शनिबार कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दियो।

Tata
GBIME
Nepal Life

मन्त्री राना मगर सडकमा लडेकी बालिकालाई उठाएर अस्पताल पुर्‍याउनतिर लागेनन्। उनले चालकलाई गाडी दौडाउन लगाए। यति गम्भीर घटनामा प्रधानमन्त्री केपी ओलीले मन्त्री रानामगरको बचाउ गरे। गाडीले बालिकालाई छोएको मात्र भनेर घटनालाई केही पनि होइन भनी टार्न खोजे।

यो त एउटा पछिल्लो ताजा उदाहरण हो। राजनीतिक नेतृत्वको मनोमानी यति चुलिएको छ कि भनिसाध्य छैन। ‘सानालाई ऐन, ठूलालाई चैन’का विषयमा आमजनताले सामाजिक सञ्जालमा प्रश्न उठाउँदै आएका थिए। कुशासनविरुद्ध आवाज उठाउने थलो सरकारले भदौ १९ गते हठात बन्द गरिदियो।

नेपालमा सूचीकरण नभएको र सर्वोच्च अदालतको एक वर्षअघिको आदेशलाई कारण देखाइए पनि खासमा ओलीले कम्युनिष्ट शासन रहेको चीनबाट फर्किएको भोलिपल्ट सामाजिक सञ्जाल बन्द गर्न लगाउनुको खास कारण सरकारविरुद्धको आवाजलाई दबाउन खोज्नु हो।

सरकारी सेवा लिंदा घुस खुवाउनुपर्ने, घण्टौं लाइन लाग्नुपर्ने, विश्वविद्यालयमा समयमा परीक्षा नहुने, पढाइ अनुसार काम नपाउने लगायत कारण वाक्क भएको जेनजी पुस्ता चरम निराश थियो।

त्यो निराशा उनीहरुले सामाजिक सञ्जालमार्फत पोख्दै आएका थियो। कतिपयले सामाजिक सञ्जाललाई आयआर्जनको माध्यम बनाएका थिए। अध्ययनका लागि पनि सामाजिक सञ्जाल सहयोगी थियो। तर, सरकारले मुख थुन्नका लागि सामाजिक सञ्जाल बन्द गरेपछि जेनजी पुस्ता सोमबार स्वतस्फूर्तरुपमा सडकमा निस्कियो।

जेनजी पुस्ता काठमाडौंको सडकमा मात्र निस्किएको होइन, देशव्यापीरुपमा प्रदर्शन भयो। कसैले पनि नसोचेको संख्यामा जेनजी सडकमा निस्किए।

जेनजी पुस्ता यसरी सडकमा निस्किनुलाई राजनीतिक विश्लेषक राजेन्द्र दाहालले अर्थपूर्ण विद्रोहका रुपमा लिएका छन्। उनले जेएनजीको प्रदर्शनलाई प्रजातन्त्र पुनर्बहाली र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन विरोधी आन्दोलनसँग तुलना गरे।

‘नेपालमा अहिलेसम्म कुनै करिस्माटिक नेता देखिएको छैन। जनता जागेकै कारण नेपालको अस्तित्व रहेको हो। २०३६, २०४६ र २०६२/६३को आन्दोलनमा जसरी जनता आफैं सडकमा आएका थिए अहिले जेनजी पुस्ता त्यसैगरी आयो। कुशासनको हद नाघेको अवस्थामा युवा पुस्ता स्वतस्फूर्त सडकमा उत्रिनु राम्रो संकेत हो,’ दाहालले भने, ‘असन्तुष्टि चरमचुलीमा पुगेको रहेछ भन्ने देखियो। सडकमा ओर्लिएर प्रदर्शन गरेकामा जेएनजीलाई धन्यवाद। उनीहरुले कुशासनविरुद्ध सडकमा ओर्लिएर सही काम गरेका छन्।’

सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सरकारको कामलाई लिएर असन्तुष्ट युवा आफूले प्रयोग गरिरहेको सेवा अवरुद्ध भएपछि आक्रोशित भइ सडकमा उत्रिएको विश्लेषण गरे।

ईश्वरप्रसाद खतिवडा

‘युवाहरु सरकारको कामलाई लिएर असन्तुष्ट थिए। आफूले प्रयोग गरिरहेको सेवा अवरुद्ध भएपछि उनीहरु आक्रोशित हुन पुगे। भविष्यप्रतिको चिन्ताले असन्तोष बढाएपछि उनीहरु बाध्य भएर सडकमा निस्किए,’ पूर्वन्यायाधीश खतिवडाले भने, ‘शासन चलाउनेमा कानुन अरुले मान्नुपर्छ, मैलेचाहिं पर्दैन भन्ने छ। उनीहरु सुध्रिने छाँट छैन। त्यसैले युवाहरुले अहिलेको आक्रोश अबको चुनावमा प्रयोग गर्नुपर्छ। मुलुकलाई भ्रष्टाचारको दलदलमा लाने र देश विकासको कुनै भिजन नभएका नेतालाई पाखा लगाउने भनेको लोकतान्त्रिक प्रक्रियाबाटै हो। त्यो भनेको चुनाव हो। सडकमा प्रदर्शनबाट शासक फेरिने होइन।’

आफ्नो आवाज दबाउन खोजेको विरोधमा सडकमा उत्रिएका जेनजीमाथि सरकारले अधिक बल प्रयोग गरेको छ। अश्रुग्यासले नपुगेर अन्धाधुन्ध गोली चलाइएको छ।

गोली लागेर एक दर्जनभन्दा बढीले अनाकहमा ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्। २०६२/६३ को आन्दोलनमा तत्कालीन शाही सत्ताले नगरेको दमन अहिले ओली सरकारले गरेको छ। प्रहरीले व्यक्तिका घर र अस्पतालमा छिरेर बर्बरता प्रदर्शन गरेको छ। अस्पतालका उपचार कक्षमा अश्रुग्यासको असर पुगेको छ। ओलीले ज्ञानेन्द्र शाहको ज्यादत्तिलाई नै बिर्साउने गरी दमन गरेका छन्।

यो बर्बर दमनमा आफूलाई लोकतान्त्रिक पार्टी भन्ने नेपाली कांग्रेस पनि उतिकै दोषी छ। नवयुवामाथि अन्धाधुन्ध गोली चलाउने प्रहरी प्रशासन अहिले कांग्रेसको हातमा छ। सुशासन र समृद्धिका लागि भनेर १४ महिनाअघि गठन भएको दुई ठूला दलको सरकारले कहिल्यै कसैले माफ गर्न नसक्ने गरी देशको भविष्यमाथि बन्दुकमार्फत धावा बोलेको छ।

प्रदर्शनकारीलाई पछाडि हटाउन असंख्य वैकल्पिक उपाय हुँदाहुँदै पनि सरकारले सिधै गोली चलाएको छ। विरोधका स्वर बन्दुकको बलमा दमन गर्नु वीरता होइन, कायरता हो। सरकारले आतंकवादी मानसिकता प्रदर्शन गरेको छ। यसले ओली मात्र होइन, उनलाई साथ दिने कांग्रेस पनि सत्तामा एकछिन पनि बस्नका लागि लायक छैनन् भन्ने थप स्पष्ट भएको छ।

पूर्वमन्त्री विद्याधर मल्लिकले युवाशक्तिमाथि सरकारले क्रुरता प्रदर्शन गरेको टिप्पणी गरेका छन्। ‘धेरै दु:खी छु! देशप्रतिको जिम्मेवारीबोध गरेर सडकमा उत्रेका जेनजीका युवा शक्तिप्रति राज्यले गरेको व्यवहारबाट, देखाएको क्रुरताबाट,’ उनले भने।

प्रहरीको अश्रुग्यास र गोली थापेर कर्फ्यू उल्लंघन गर्दै प्रदर्शन गरी जेएनजीले शासन व्यवस्थामा मनपरी गर्दै आएको राजनीतिक नेतृत्वलाई अब सहेर नबस्ने सन्देश दिएको छ। उनीहरुले नेताहरुको कुशासनका कारण आफ्ना अभभिभावकले कष्ट झेले पनि तथा विकासको लाभ पाउन नसके पनि अब आफूहरु सहेर बस्ने पक्षमा नरहेको सन्देश प्रवाह गरेका छन्।

‘कुशासनको आहालमा चुर्लुम्म डुबेका नेताले अब पदमा टाँसिने होइन। शासन व्यवस्थामा सुधारका लागि मार्ग प्रशस्त गर्नुपर्छ। जेएनजीले राजनीतिक नेतृत्वलाई राम्रैसँग घण्टी बजाइदिएको छ,’ विश्लेषक दाहालले भने।

जेएनजीको प्रदर्शन त्यस्तो बेला भएको छ जतिखेर ओलीले एमालेको विधान महाधिवेशनबाट पार्टी नेतृत्वमा तेस्रो पटक दोहोरिने ढोका खोलेका छन्। अर्थात उनी जेनजी पुस्ताको आवाज सुन्ने पक्षमा छैनन्। शासन सत्ता चलाउनका लागि कुनै योग्यता र क्षमता नभएको आफैं प्रमाणित गरिसक्दा पनि ओलीले अझै र्‍याल चुहाइरहेका छन्।

एमालेको विधान महाधिवेशनमा केपी ओली

उनी पछि प्रधानमन्त्री हुने पालोमा अर्का वयोवृद्ध र भ्रष्टाचारलाई ओलीले जसरी नै संस्थागत गरेका शेरबहादुर देउवा छन्। ओली र देउवालाई जुधाएर फाइदा लिन सकिन्छ कि भनेर च्याँखे थाप्ने पुष्पकमल दाहालप्रति पनि उतिकै जन आक्रोश छ।

त्यो आक्रोशलाई बुझ्नुको साटो यी तिनै नेताले आ आफ्नो पार्टीमा मनोमानी चलाइरहेका छन्। जनचाहना अनुसार आवाज उठाउने नेतालाई उनीहरुले निषेध गरिरहेका छन्। लोकतान्त्रिक व्यवस्थामा पार्टीले शासन चलाउने भए पनि यी तीन नेताले आ आफ्नो पार्टीलाई भजनमण्डलीमा परिणत गरेका छन्। जसका कारण पार्टी पद्धतिप्रति जेएनजी कत्ति पनि आकर्षित हुन सकिरहेको छैन।

सामाजिक सञ्जालपछि देशव्यापीरुपमा सडकमा पोखिएको आक्रोशलाई राजनीतिक नेतृत्वले अझै पनि गम्भीर रुपमा लिएन भने त्यो उनीहरुका लागि त घातक हुने संकेत देखिइसकेको छ नै, मुलुकका लागि पनि दुर्भाग्य हुनेछ।