काठमाडौं। सुनको मूल्यले बढोत्तरीमा लगातार कीर्तिमान बनाइरहेको छ। आइतबार कारोबार मूल्य प्रति तोला २ लाख ३ हजार ६ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबारका तुलनामा आइतबार तोलामा ३ हजार रुपैयाँले बढेको छ। गत बिहीबारका तुलनामा १ हजार २ सय रुपैयाँ बढ्दा शुक्रबार प्रति तोला २ लाख ६ सय रुपैयाँ भएको थियो।
चाँदी पनि बढेको छ। तोलामा ६५ रुपैयाँ बढेर आइतबार कारोबार मूल्य प्रति तोला २ हजार ४ सय २५ रुपैयाँ भएको छ। शुक्रबार चाँदी तोलामा ५ रुपैयाँ बढ्दा प्रति तोला २ हजार ३ सय ६० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ३४४७.९५ डलर र चाँदी प्रति औंस ३९.७४ डलर पुगेको छ। सुनको मूल्य बढ्नुका मुख्य कारणहरूमा अमेरिकी डलरको मजबुती, विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव, मुद्रास्फीति, र केन्द्रीय बैंकहरूको सुन खरिद वृद्धि रहेको देखिएको छ। पछिल्ला केही महिनादेखि अमेरिकी डलर बलियो हुँदै जाँदा विश्वका ठुला सेयर बजार लगानीकर्ताले सुरक्षित सम्पत्तिका रूपमा सुनतर्फ ध्यान दिएका छन्।
अन्तर्राष्ट्रिय बजारमा मुद्रास्फीति बढ्दै गएका कारण पनि सुनको माग बढेको छ। चीन, भारत, युरोप लगायतका प्रमुख अर्थतन्त्रमा आर्थिक अनिश्चितता रहँदा लगानीकर्ताले सुनलाई जोखिम कम गर्ने साधनको रूपमा लिने गरेका छन्।











