हिलाम्मे ऋषि पञ्चमी : टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा भक्तजनहरूको घुइँचो



सुशील श्रेष्ठ
२०८२ भदौ १२ गते १५:०१ | Aug 28, 2025
हिलाम्मे ऋषि पञ्चमी : टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा भक्तजनहरूको घुइँचो

काठमाडौं। झरीका बीच काठमाडौं उपत्यकामा भक्तजनहरूले ऋषि पञ्चमी मनाएका छन्। ऋषि पञ्चमीका अवसरमा बिहीबार अधिकांश शिवजीका मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ।

Tata
GBIME
Nepal Life

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुइँचो लागेको थियो। बर्सातका कारण मन्दिर परिसर हिलाम्मे बनेपनि भक्तजनहरूले पूजाआजा गरेका छन्।

सो क्रममा त्यस क्षेत्रमा आएका विदेशी पर्यटकहरूले पनि टीका लगाएका थिए।

ऋषि पञ्चमी भाद्र शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइन्छ। यो विशेषतः नेपाली हिन्दू समाजमा महिलाहरूले श्रद्धापूर्वक मनाउने पर्व हो।

ऋषि पञ्चमीको मुख्य उद्देश्य पापमोचन, शुद्धि र ऋषिहरूको सम्मान गर्नु हो। यस दिनमा विशेष गरेर महिलाहरूले आफ्नो अज्ञानतावश महिनावारीको समयमा गरिएका कुनै धार्मिक त्रुटिको प्रायश्चित गर्न व्रत लिन्छन्।

व्रतका लागि बिहानै उठेर नुहाउने, विशेष गरी दाँत दतिवनले माझ्ने र पवित्र नदी वा पोखरीमा स्नान गर्ने गरिन्छ। गाईको गोबर, तुलसी, जल, गंगा जल, फूल र धूपदीपले सप्तऋषिहरूको पूजा गर्ने गरिन्छ।

व्रतालु महिलाहरू दिनभर उपवास बस्छन् र साँझपख पूजा सम्पन्न गरेपछि व्रत समाप्त गर्छन्।