अमेरिकाको मिनियापोलिसस्थित एक क्याथोलिक चर्चको झ्यालबाट एक व्यक्तिले गोली चलाउँदा २ बालबालिकाको मृत्यु भएको छ। ८ र १० वर्षका बालबालिकाको मृत्यु भएको र थप १७ जना घाइते भएको प्रहरीले जनाएको छ।
विद्यालय पनि सँगै रहेको एन्नन्सियसन चर्चमा बुधबार बिहान प्रार्थना भइरहेको समयमा आक्रमण भएको हो। घाइतेमध्ये १४ जना बालबालिका रहेका छन्।
आक्रमणकारी २३ वर्षीय रोबिन वेस्टम्यान रहेको खुलेको छ। उनले घटनास्थलमै आत्महत्या गरेका थिए। उनको आपराधिक पृष्ठभूमि नभएको अधिकारीहरूले बताएका छन्।
प्रहरी प्रमुख ब्रायन ओ’हाराका अनुसार यो निर्दोष बालबालिका र प्रार्थना गरिरहेका मानिसमाथि गरिएको योजनाबद्ध हिंसात्मक आक्रमण हो।
उनले भने, ‘बालबालिकाले भरिएको चर्चमा गोली हान्ने जस्तो क्रुरता र कायरता सहनै नसकिने कुरा हो।’
एफबीआई निर्देशक काश पटेलका अनुसार घटनाको उद्देश्य अझै प्रस्ट भएको छैन। यस घटनालाई घरेलु आतंकवाद र क्याथोलिक धर्मविरुद्धको घृणापूर्ण अपराधका रूपमा अनुसन्धान गरिएको छ।
स्थानीय समयअनुसार बिहान ८ बज्नु केहो समयअघि प्रहरीले पहिलो पटक गोली चलिरहेको खबर पाएको थियो। आक्रमणकारीले भवनको छेउबाट राइफल, सटगन र पिस्तोलसहित तीन प्रकारका हतियार प्रयोग गरी चर्चको झ्यालबाट भित्र दर्जनौं पटक फायर गरेका थिए।
घटनास्थलमा एउटा स्मोक बम पनि फेला परेको छ। प्रहरीले भित्र गोली चलेको हो कि बाहिरबाट मात्र प्रहार भएको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ। चर्चभित्र गोलीको खोल नपाइएको अधिकारीहरूले जनाएका छन्।
घटनाबाट बाँच्न सफल १० वर्षीय एक बालकले भने, ‘म रंगिन सिसा भएको झ्यालबाट दुई सिट मात्र टाढा थिएँ। मेरो साथी भिक्टरले मलाई बचायो। उसले मेरो माथि लडेर ढाकिदियो। तर उसलाई गोली लाग्यो।’
उनले थपे, ‘मेरो साथीको ढाडमा गोली लाग्यो। ऊ अस्पताल गयो। म निकै डराएको थिएँ। तर, अहिले ऊ ठिकै भएको जस्तो लाग्छ।’
चर्चसँगै आवासीय क्षेत्रभित्र विद्यालय छ। त्यहाँ ५ देखि १४ वर्षका विद्यार्थी अध्ययन गर्छन्।
आक्रमणकारीकी आमा मेरी ग्रेस वेस्टम्यानले सन् २०१६ मा सोही विद्यालयमा काम गरेको र २०२१ मा अवकाश लिएको तथ्य बाहिर आएको छ।
आक्रमणकारीले अनलाइनमा पोस्ट गर्न मिल्ने गरी नोट तयार पारेको पनि प्रहरीले पत्ता लगाएको छ। सो नोट घटनाको समयमा सार्वजनिक हुने गरी मिलाइएको थियो। एफबीआईको सहयोगमा उक्त सामग्री हटाइएको छ।











