काठमाडौं। चालु आर्थिक वर्ष पहिलो महिनामा करिब तीन खर्ब रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार साउनमा २ खर्ब ८९ अर्ब ५८ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यो कारोबार रकम पोहोर साउनको तुलनामा ३०.७५ प्रतिशत कम हो। पोहोर साउनमा ४ खर्ब १८ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
क्षेत्रगतरुपमा फाइनान्सको सेयर कारोबारमा सबैभन्दा धेरै गिरावट देखिएको छ। पोहोर साउनको तुलनामा यसपालि साउनमा फाइनान्सको सेयर कारोबार ७७.४७ प्रतिशतले घटेको छ।
११ वटा उपसमूहको कारोबार रकम घट्दा विकास बैंक र अन्य उपसमूहको सेयर कारोबार बढेको छ। विकास बैंकको सेयर कारोबार साढे ४ प्रतिशतले बढेको हो।
सेयर कारोबार धेरै हुनेमा पहिलो नम्बरमा जलविद्युत उपसमूह छ। जलविद्युत कम्पनीको १ खर्ब ६ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो कारोबार रकम पोहोरकोतुलनामा १८.७३ प्रतिशत कम हो। पोहोर साउनमा जलविद्युत कम्पनीको १ खर्ब ३० करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
सेयर कारोबारमा वाणिज्य बैंकलाई लघुवित्तले उछिनेका छन्। यसपालि लघुवित्त कम्पनी जलविद्युत पछि दोस्रो नम्बरमा छन्।
दुई आर्थिक वर्षको साउन महिनामा भएको सेयर कारोबार रकम रु दश लाखमा
| सेक्टर | २०८२/८३ | २०८१/८२ | फरक % |
| फाइनान्स | ८७७४.९७ | ३८९५४.२९ | -७७.४७ |
| जलविद्युत | १०६३२७.४७ | १३०८३१.३३ | -१८.७३ |
| लगानी | १४९९९.७२ | २८७५५.५४ | -४७.८४ |
| व्यापार | ४५६.१७ | १५६४.७२ | -७०.८५ |
| होटल तथा पर्यटन | ६०७९.५२ | १०३१५.५५ | -४१.०६ |
| उत्पादन तथा प्रशोधन | २१३३४.६१ | २४८९०.४६ | -१४.२९ |
| विकास बैंक | २७४८८.२५ | २६३०२.२६ | ४.५१ |
| जीवन बीमा | १०१४९.१९ | २५९१६.४९ | -६०.८४ |
| अन्य | २५५४३.३७ | २५४४७.६६ | ०.३८ |
| वाणिज्य बैंक | २८२००.७४ | ५१८६७.७६ | -४५.६३ |
| लघुवित्त | २८२५७.७१ | २९१५७.५२ | -३.०९ |
| निर्जीवन बीमा कम्पनी | ५८९५.८३ | १९५२०.१५ | -६९.८ |
| कुल कारोबार | २८९५८८.७६ | ४१८२०३.०७ | -३०.७५ |
यसपालि साउनमा नेप्से ३००२ अंकसम्म पुगेको थियो। नेप्सेले चार वर्षअघिको उचाइ लिए पनि कारोबार रकममा यसअघिको रेकर्ड भने तोड्न नसकेको हो।











