बीमालेखको सुरक्षणमा दिइएको कर्जा र ब्याज गणना विधिबारे स्पष्ट पार्न प्राधिकरणको निर्देशन



बिजमाण्डू
२०८२ भदौ ८ गते १८:०० | Aug 24, 2025
बीमालेखको सुरक्षणमा दिइएको कर्जा र ब्याज गणना विधिबारे स्पष्ट पार्न प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा विद्युतीय माध्यम वा पत्रमार्फत स्पष्ट बुझिने गरी समयमै जानकारी दिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

Tata
GBIME
Nepal Life

बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा भुक्तान हुन बाँकी रहेको कर्जा रकम तथा ब्याजको गणना विधिका सम्बन्धमा बीमितलाई पर्याप्त जानकारी नदिने र अन्तिममा परिपक्व भुक्तानी तथा दाबी रकमबाट कट्टा गर्ने गर्दा बीमित तथा हिताधिकारीरूलाई मर्का परेको गुनासो बढेपछि प्राधिकरणले निर्देशन दिएको हो।

‘बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा तीस दिन अगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा इमेल वा पत्रमार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न/गराउन परिपत्र गरिएको छ,’ प्राधिकरणको निर्देशनमा भनिएको छ।

प्राधिकरणले ऋण तथा ब्याज असुलीका लागि स्मरणपत्र वा जानकारी दिई बीमितको ध्यानाकर्षण गर्नु बीमा कम्पनीको कर्तव्य भएको समेत स्मरण गराएको छ।