
काठमाडौं। कारोबारको अन्तिम दिन सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ५ सयले बढेर ७८ हजार १ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबारको कारोबार मूल्य प्रतितोला ७७ हजार ६ सय थियो।गत आइतबार र सोमबार समान ७६ हजार ५ सय रहेको सुनमा मंगलबार २ सय बढेको थियो भने बुधबार ७७ हजार १ सय पुगेको थियो ।
चीनको हुवेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस रोग (कोभिड-१९) का कारण चिनियाँ अर्थतन्त्रसँगै विश्वबजारमा परेको प्रभावले अझै केही समय सुनको मूल्य नघट्ने संकेत देखिएका छन्।
विश्वमा अमेरिकापछि दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा कोभिड-१९ को संक्रमणपछि अधिकाश उद्योगधन्दा बन्द छन्। जसको सोझो असर अन्तर्राष्ट्रिय सेयर बजार र डलरको भाउमा परेको छ। आफ्नो लगानी सुरक्षित राख्न लगानीकर्ता सुन खरिदतर्फ आकर्षित छन् । यसले गर्दा सुनको भाउ बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
अघिल्लो दिनको तुलनामा नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला ९ सय १५ रूपैयाँ छ । आइतबार ८ सय ८५ मा कारोबार भएको चाँदी सोमबार र मंगलबार समान ८ सय ९० थियो भने बुधबार प्रतितोला ९ सय ५ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार दिउँसोसम्म सुन प्रतिऔंस १६३७.२० डलरमा कारोबार भइरहेको थियो।










