काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो शो २०२५ सुरु भएको छ। यतिखेर मानिसहरु प्रदर्शनीस्थल पुगेर नयाँ गाडी र नवीनतम प्रविधिका उपकरण हेर्न पुगिरहेका छन्।
अटो शोमा सुरुमा स्पेयर पार्ट्सका स्टल आउनेछन्। त्यसपछि मात्रै प्रिमियम स्टलहरू हुँदै बाइक लगायत अन्य स्टलहरूमा जान मिल्ने व्यवस्था गरिएको छ।

यो पटक पनि नाडाले भृकुटीमण्डपका सबै स्पेस लिएर भिजिटर र एक्जिबिटरका लागि सहज बनाउने कोसिस गरेको देखिन्छ।
मेलामा कुल ७५ वटा कम्पनी तथा संस्थाका स्टल रहनेछन्। चार पांग्रे गाडी, दुई पांग्रे मोटरसाइकल/स्कुटर, लाइट कमर्सियल गाडी, फाइनान्स कम्पनी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी, पुर्जा लगायत अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहेको छ।

साथै, यो पटक नयाँ फ्लाइङ कार र रोबोट पनि देख्न पाइनेछ। फ्लाइङ कार अहिले अटो शो हुने स्थानमा ल्याइसकिएको छ। यस्तै, पुराना क्लासिक भिन्टेज कारहरूको कलेक्सन पनि रहेको छ।

































